बनेपा समाचारदाता
बनेपा, साउन २७ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, रयालेका हरिप्रसाद सापकोटाको आइतबार ९१ वर्षको उमेरमा निधन भयो । पाँच छोरी रहेका सापकोटाको निधनपछि केही छोरीले दागबत्ती दिन र किरिया बस्न पाउनुपर्छ भन्नेमा थिए । केहीले भने छोरीलाई होइन, नजिकका आफन्तले गर्नुपर्छ भनेर दुई धारमा विभाजित बन्न पुगेको थियो । समाज दुई धारमा विभाजित बनेसँगै अन्ततः सापकोटाका साइँली छोरी विमला सापकोटा दाहाल, काइँली छोरी निर्मला सापकोटा भुर्तेल र कान्छी छोरी राधिका सापकोटा अधिकारीले बुवाको दाहसंस्कार गरेर किरियामा बस्नुभएको छ ।
सापकोटाकी साइँली छोरी विमला बनेपा नगरपालिकाको उपप्रमुख, काइँली छोरी निर्मला शिक्षक र कान्छी छोरी राधिका नेकपा (एमाले) धादिङको सचिव हुनुहुन्छ । सामाजिक सञ्जालमा उनीहरूको कदमको प्रशंसा भएको छ भने समाज र आफन्तमा केही असन्तुष्टिसमेत देखिएको छ । सुरुमा सापकोटा परिवारका पुरोहितले छोरीले काजकिरिया गर्न मिल्ने बताए पनि समाजको दबाबपछि उहाँ पछि हट्नुभएको थियो । छोरीले अर्को पुरोहित खोजेर काजकिरियाको काम गराउनुभएको हो । आफूहरूले बुवाको दाहसंस्कार र किरिया बस्ने कुरामा आफन्त र समाजबाट नै सहयोग नमिलेको भन्दै साइँली छोरी विमलाले सामाजिक सञ्जालमार्फत गुनासो व्यक्त गर्नुभएको छ ।