• ३१ वैशाख २०८३, बिहिबार

मरिणखोलामा तटबन्ध निर्माण

blog

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत यो वर्ष तटबन्ध गरिएको मरिणखोला ।

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), साउन २७ गते  । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिणखोलामा दुई किलोमिटर लामो तटबन्ध निर्माण  सम्पन्न भएको छ । सुनकोशी नदीको पानी सुरुङमार्फत मरिणखोलामा मिसाउँदा मरिण क्षेत्रको उर्वर जमिन डुबान र कटानमा पर्ने भएकाले आयोजनाले त्यस्तो क्षेत्र पहिचान गरी दुवै किनारमा तटबन्ध निर्माणको काम गत वर्षदेखि सुरु गरेको हो । तटबन्ध निर्माणको पहिलो प्याकेज अन्तर्गत कमलामाई नगरपालिका–१, डाँडीमा दुई किलोमिटर तटबन्ध निर्माणको काम सकिएको उक्त आयोजनाले जनाएको छ । आयोजनाले मरिणखोला नियन्त्रण तथा मरिणखोला किनारस्थित किसानको कुलोसमेत पुनस्र्थापना गर्ने गरी गुरुयोजनामा समेटेको छ । सोही गुरुयोजना अनुरूप प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध गरी किसानको जग्गा संरक्षण गरिएको हो । 

आयोजनाका अनुसार पहिलो प्याकेज–१ अन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न जयमा स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभी निर्माण कम्पनीसँग गत वर्ष भदौमा सम्झौता भएको थियो । उक्त कम्पनीले एक वर्षमा काम सक्ने गरी मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता गरेको हो । 

सुनकोशीको पानी मरिणखोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिणखोलाको बहाब क्षेत्र करिब ४४ किलोमिटर लम्बाइ रहेको छ । उक्त बहाब क्षेत्रमा आवश्यक ठाउँ पहिचान गरी दुवै किनारमा छ प्याकेजमा ४६ किलोमिटर लम्बाइको तटबन्ध निर्माण गरिने आयोजना प्रमुख बद्री कार्कीले जानकारी दिनुभयो । मरिणखोलाको दुवै किनारमा तटबन्धका लागि विस्तृत अध्ययनबाट डिपिआर तयार भई चार अर्ब रुपियाँ लागत अनुमान स्वीकृत भएको पनि उहाँले बताउनुभयो । आयोजना प्रमुख कार्कीले भन्नुभयो, “दोस्रो प्याकेज साढे १० किलोमिटर तटबन्ध गर्न आयोजनाले मागेको एक अर्बमध्ये अर्थ मन्त्रालयबाट ६५ करोड स्रोत सुनिश्चित भइसकेको छ । दोस्रो प्याकेजका लागि गत वैशाख १० गते नै ठेक्का आह्वान भइसकेको छ ।”

दोस्रो प्याकेजका लागि आठ वटा निर्माण कम्पनीले बोलपत्र हालेको र अहिले उनीहरूको बोलपत्र मूल्याङ्कनको काम भइरहेको छ । बाँकी प्याकेज स्रोत सुनिश्चित गर्दै व्रmमशः टलबन्ध निर्माणको काम अघि बढ्दै जाने आयोजनाले जनाएको छ । मरिणखोलामा तटबन्ध निर्माणको काम पूर्ण रूपमा नेपाल सरकारको स्रोतबाट हुने पनि आयोजना प्रमुख कार्कीले स्पष्ट पार्नुभयो । “सुनकोशी नदीको पानी मरिणखोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गरिने योजना छ,” उहाँले भन्नुभयो, “सुनकोशीको पानी खस्ने कुसुमटार (मरिणखोला) देखि बागमती नदीसम्म सबै ठाउँमा तटबन्ध हुँदै छ । सुनकोशीको पानी मरिणखोलामा मिसाउने १३.३ किलोमिटर लम्बाइको सुरुङ भने निर्माण भइसकेको छ ।”

आयोजनाका अनुसार सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माण गरी पानी बग्ने ५.५ डायमिटरको १३ किमीको सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने योजना छ । उक्त आयोजना अन्तर्गत कुसुमटारमा ३१.७ मेगावाट विद्युत् उत्पादन गर्ने र सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पु-याएर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने उद्देश्य रहेको आयोजनाले जनाएको छ ।