धादिङबेँसी समाचारदाता
धादिङबेँसी, साउन २७ गते । धादिङबेँसी–साङकोष–तिप्लिङ सडकको स्तरोन्नति सुस्तगतिमा अघि बढेकाले समयमा पूरा नहुने देखिएको छ । उत्तरी धादिङको सामाजिक, आर्थिक तथा भौगोलिक विकाससँग प्रत्यक्ष सरोकार राख्ने सडकको स्तरोन्नति भइरहेको छ ।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सडकको स्तरोन्नति ढिलो भएको भन्दै सङ्घीय सरकारसँग थप बजेट विनियोजन गर्न माग गर्नुभएको छ । जिल्लाको उत्तर–दक्षिण सडकमार्ग मानिएको यो सडकले नीलकण्ठ नगरपालिका, नेत्रावती डब्जोङ, खनियाँबास, गङ्गाजमुना र रुबीभ्याली गाउँपालिकालाई जोड्छ । यो सडक पृथ्वी राजमार्गबाट सुरु भई रसुवाको टिमुरेसम्म पुग्ने वैकल्पिक उत्तर–दक्षिण राजमार्गका रूपमा सूचीकृत छ । सडकको विस्तृत आयोजना प्रतिवेदन विसं २०७२ मै तयार भएको थियो ।
गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार हाल सङ्घीय सरकारबाट आर्थिक वर्ष २०८२÷८३ मा करिब तीन करोड रुपियाँ विनियोजन गरिएको छ । बजेटबाट डुन्डुरेलाई जिरो प्वाइन्ट बनाएर त्यसपछिको खण्डमा सडक विस्तारको योजना रहेको उहाँले जानकारी दिनुभयो । सडक स्तरोन्नति कार्य अत्यन्तै ढिलो र प्रभावहीन देखिएको अध्यक्ष तामाङले बताउनुभयो । “बागमती प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत केही खण्डमा ठेक्का सम्झौता भई काम सुरु गरिएको भए पनि ठेकेदारको लापर्बाहीका कारण निर्माण कार्य लथालिङ्ग छ,” उहाँले भन्नुभयो । पूर्वाधार विकास कार्यालय, धादिङले किन्ताङफेदी–डुन्डुरे खण्डका लागि करिब १६ करोड रुपियाँ बराबरको ठेक्का सम्झौता गरिसकेको छ भने सम्बन्धित कार्यालयले निर्माण कार्य वर्षा सकिएपछि सुरु हुने जनाएको छ ।
वर्षायाममा सडक जोखिमपूर्ण हुने हुँदा स्थानीयवासीलाई दैनिक आवागमनमा समस्या हुने गरेको छ । विशेष गरी रुबीभ्याली र खनियाँबास गाउँपालिकाका बासिन्दालाई सडक अवरोधका कारण एक दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । अध्यक्ष तामाङले सङ्घ सरकारसँग आगामी वर्ष यो सडकलाई बहुवर्षीय आयोजना अन्तर्गत राखी पर्याप्त बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । उहाँले यो सडकलाई वैकल्पिक व्यापारिक मार्गका रूपमा समेत विकास गर्न सकिने सम्भावना औँल्याउनुभएको छ ।