नेपालगन्ज समाचारदाता
नेपालगन्ज, साउन २७ गते । बाँके जिल्लामा सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै बढ्दै गएको छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लामा रक्तदान गर्नेभन्दा रगतको माग बढी हुने गरेका कारण सधैँ रगतको अभाव हुने गरेको बताउनुभयो । उहाँले सोही कारणले रक्तदान गर्ने सङ्घ संस्था र दातालाई सधैँ रगतका लागि गुहार्नु परेको बताउनुभयो । प्रमुख रेग्मीका अनुसार बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसञ्चार केन्द्रमार्फत रगत सङ्कलन र वितरणको काम हुँदै आएको छ ।
सङ्कलित रगतमध्ये अधिकांश नेपालगन्जको भेरी अस्पताल र सञ्जीवनी शिक्षण अस्पताल तथा कोहलपुरको शिक्षण अस्पतालमा खपत हुने गरेको छ । सङ्कलनभन्दा माग सधैँ बढी हुने गरेकाले रगतको अभाव निरन्तर हुने गरेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ । उहाँले भन्नुभयो, “नेपालगन्जमा दैनिक ६० देखि ७० पिन्ट, कोहलपुरमा १५ देखि २५ पिन्ट र खजुरामा आठदेखि १२ पिन्टसम्म रगतको माग हुने गरेको छ । यति धेरै रगत सङ्कलन नहुँदा पु¥याउन समस्या भएको हो ।” उहाँले रगत अभाव कम गर्नका लागि रक्तदान अभियानलाई झन् तीव्र पार्न सङ्घ संस्था र दातासँग अनुरोध गर्नुभएको छ ।
तेइस हजार पिन्ट रगत वितरण
नेपालगन्जस्थित भेरी अस्पतालको प्राङ्गणमा रहेको प्रादेशिक ब्लड बैङ्क र सोमातहतमा कोहलपुर तथा खजुरामा रहेका ब्लड सङ्कलन केन्द्रबाट एक वर्षमा २३ हजार पिन्ट रगत वितरण गरिएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा केन्द्र तथा सोमातहतका कोहलपुर र खजुरामा रहेका एकाइबाट २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको हो ।
बाँके जिल्लामा गत आवमा १६ हजार १५१ पिन्ट रगत विभिन्न दाताबाट सङ्कलन गरिएकोमा आवश्यकता अनुसार आरबिसी (रातो रगत) र डब्लुबिसी (सेतो रगत) बनाएर २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आवमा प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जमा ११ हजार आठ पिन्ट रगत सङ्कलन भएकोमा १५ हजार नौ सय पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको थियो । यसै गरी रक्तसञ्चार एकाइ कोहलपुरमा चार हजार १६ पिन्ट रगत सङ्कलन भएकोमा पाँच हजार १७४ पिन्ट वितरण गरिएको थियो ।