• ८ भदौ २०८२, आइतबार

बढ्दै अनियमितताका उजुरी

blog

घोराही समाचारदाता

घोराही, साउन २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका उजुरी बढ्दै गएका छन् । स्थानीय तह, सरकारी कार्यालयलगायतका अन्य सङ्घ संस्थामा हुने भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयमा बर्सेनि उजुरी बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा अख्तियारमा २६७ वटा उजुरी परेकोमा यो सङ्ख्या बढेर आव २०८१/८२ मा ३०५ पुगेको छ । अख्तियारमा एक वर्षको अवधिमा परेका ३०५ उजुरीमध्ये जिल्लाका १० स्थानीय तहका मात्र १३७ वटा उजुरी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाँकी १६८ वटा जिल्लामा रहेको प्रदेश तथा सङ्घ अन्तर्गतका कार्यालयसँगै सङ्घ संस्थाका रहेका छन् ।

सूचना अधिकारी न्यौपानेका अनुसार स्थानीय तहका १३७ उजुरीमध्ये ७० वटा उजुरी बेनामी रहेका छन् । उहाँले अख्तियारमा परेका स्थानीय तहका १३७ उजुरीमाथि छानबिन र अनुसन्धान गर्दा १२१ वटा उजुरी फस्र्योट भएको बताउनुभयो । सूचना अधिकारी न्यौपानेका अनुसार आव २०८१/८२ मा जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाका सबैभन्दा धेरै ३३ उजुरी परेका छन् । आयोगमा परेका ३३ उजुरीमध्ये २७ वटा फस्र्योट भएका छन् भने छ वटा उजुरी बाँकी छन् ।

त्यसै गरी घोराही उपमहानगरपालिकाका २५ उजुरी परेका छन् । जसमा २० उजुरी फस्र्योट भएका छन् भने पाँच प्रक्रियामा रहेका छन् । दङ्गीशरण गाउँपालिकाका १६ उजुरीमध्ये १५ फस्र्योट भएका छन् भने एउटा उजुरी बाँकी रहेको छ । लमही नगरपालिकाका १५ वटा, राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिकाका १२÷१२ वटा, गढवा गाउँपालिकाका १० वटा, बङ्गलाचुली गाउँपालिकाका छ वटा, बबई गाउँपालिका पाँच वटा र राप्ती गाउँपालिकाबाट तीन वटा उजुरी अख्तियारमा दर्ता भएको उहाँले बताउनुभयो ।