तम्घास/बबई समाचारदाता
तम्घास/बबई, साउन २७ गते । देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीको चाप, जीर्ण भौतिक संरचना र आवश्यक पूर्वाधार अभावका कारण सञ्चालनमा गम्भीर चुनौती देखिएको छ । गुल्मी र बर्दिया जिल्लास्थित कारागारको अवस्था दयनीय छ । केही दिनअघि कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीबिच समूह समूह बनेर कुटपिटको घटना भएको थियो । सो घटनामा एक जनाको ज्यानसमेत गएको छ । अरू जिल्लामा पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले व्यवस्थापन गर्न असहज भइरहेको सम्बन्धित निकायले बताएका छन् ।
२५ जनाको क्षमतामा १०८ जना कैदी
जिल्ला कारागार गुल्मीमा २५ जनाको क्षमता बस्न मिल्ने कारागारमा अहिले १०८ जना कैदीबन्दी बस्न बाध्य छन् । जिल्ला कारागार कार्यालयका जेलर रेश्मीराज पन्थका अनुसार हाल १०१ पुरुषमध्ये ३३ जना थुनुवा र ६८ जना कैदी छन् । त्यस्तै गरी महिला बस्ने घरमा छ जनामध्ये दुई थुनुवा र चार कैदी छन्, जसमा एक नाबालिका समेत आश्रित छन् ।
भवन साँघुरो र पुरानो भएकाले खेल मैदान, सिप विकास केन्द्र र उद्योग स्थापना गर्न पर्याप्त ठाउँ छैन । जेलर पन्थका अनुसार यसले कैदीबन्दीलाई उद्यम, सिप विकास तथा पुनस्र्थापना गतिविधिमा संलग्न गराउन कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “कैदीहरूको मनोबल उकास्ने, सिप सिकाउने र शारीरिक सक्रियता बढाउने, पर्याप्त सुविधा हुनुपर्नेमा राज्यको ध्यान पुगेको छैन ।”
जिल्ला कारागार गुल्मीमा स्वास्थ्य सेवामा पनि विगतमा समस्या थियो । वरिष्ठ अहेवको दरबन्दी भए पनि लामो समयसम्म कर्मचारी नहुँदा बिरामीलाई अस्पताल लैजान कठिनाइ भएको थियो तर २०७७ साल जेठदेखि स्वास्थ्य मन्त्रालयको काजमा कर्मचारी आएपछि र पछिल्लो वर्षदेखि कारागारमै स्वास्थ्य परीक्षण हुने व्यवस्था भएपछि केही सहज भएको छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागारलाई सुधारगृहका रूपमा विकास गर्न राज्यले गम्भीर कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी
बर्दिया जिल्ला कारागार २०३४ सालमा १५० पुरुष र २५ महिला कैदीका लागि निर्माण गरिएको थियो तर अहिले यहाँ तीन जना नाबालक, ५१ महिला र ३७० पुरुषसहित कुल ४२४ कैदी राखिएका छन् । ४८ वर्ष पुरानो भवन जीर्ण भइसकेको छ । छाना चुहिने, भित्तामा चिरा पर्ने र भौतिक संरचना क्षतिग्रस्त हुने समस्या बढ्दो छ । कारागार प्रशासक मानबहादुर सारूका अनुसार बर्दिया मात्र नभई अन्य जिल्लाका कैदी पनि यहाँ राखिने भएकाले सङ्ख्या बढेको हो । बाँके जिल्लामा महिला कारागार नभएकाले त्यहाँका महिला कैदी पनि बर्दियामा पठाइने हुँदा महिलाको सङ्ख्या क्षमताभन्दा दोब्बर भएको छ ।
झडप भएपछि सुरक्षा कडाइ
गत साउन १६ गते बर्दिया कारागारमा नाइके र कैदीबिच भएको झडपमा १० जना घाइते भएका थिए । कारागार प्रशासनका अनुसार घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपमा संलग्न छ जनामाथि मुद्दा दायर गरिएको छ, जसमा पाँच जना कैलालीबाट स्थानान्तरण भई आएका ज्यान मुद्दाका कैदी हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार झडपपछि प्रहरी नायब निरीक्षक पवन चौधरीको कमान्डमा प्रहरी खटाइएको छ र आवश्यकता अनुसार थप प्रहरी परिचालन भइरहेको छ ।