• ८ भदौ २०८२, आइतबार

शिक्षकले दिए राजीनामा

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), साउन २७ गते । अवधि नपुग्दै यहाँका धेरै शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा १२४ जना शिक्षकले राजीनामा दिएका हुन् । 

आर्थिक वर्ष २०७९/८० मा प्राथमिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको हो । आव २०८०/८१ मा प्राथमिक तहमा ४६ र निम्न माध्यमिक तहमा छ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको छ । आव २०८१/८२ मा प्राथमिक तहमा २९ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा तीन जना गरी कुल ३४ जनाको राजीनामा स्वीकृत भएको छ ।  

कार्यालयका प्राविधिक सहायक रामप्रसाद पन्थीका अनुसार यस अवधिमा १०८ जना शिक्षक अनिवार्य अवकाश भएका छन् । आव २०७९/८० मा ३४ जना, २०८०/८१ मा ३६ जना र २०८१/८२ मा ३८ जना गरी कुल १०८ जना शिक्षकको अनिवार्य अवकाश भएको हो । 

शिक्षक अभाव

गुल्मीमा  गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । केही महिनापहिले जिल्लाको मुसीकोट नगरपालिकाको मुसीकोट माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । 

नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएको जानकारी दिनुभयो । 

यस्तै सोही नगरपालिकाको दल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको थियो ।

कालीगण्डकी गाउँपालिका–६, खड्गकोटको शुक्र माध्यमिक विद्यालयले चार पटक विज्ञापन गर्दासमेत माध्यमिक तहको गणित शिक्षक पाउन सकेको छैन । शिक्षक नपाएपछि गाउँपालिकासमक्ष शिक्षकको व्यवस्था गरिदिन लागि आग्रह गरेको प्रधानाध्यापक प्रेमबहादुर पुनमगरले बताउनुभयो ।