• ३१ वैशाख २०८३, बिहिबार

आयोजनाको पानी चुहिँदा स्थानीय आन्दोलित

blog

पानी चुहिएर बस्ती जोखिममा परेपछि प्रभावित र आयोजना पक्षबिच भएको छलफल ।

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, साउन २७ गते  । बहुप्रतीक्षित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङभित्र र बाहिरसमेत पानी चुहिएपछि बस्ती जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । 

सोमबार यहाँको बोर्डरल्यान्ड रिर्सोटमा बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष कुलबहादुर श्रेष्ठको नेतृत्वमा प्रभावित क्षेत्रका स्थानीय क्लब, वन समितिलगायतले आयोजनाका अधिकारीसँग जोखिमबारे ध्यानाकर्षण गराएका छन् । आयोजनाले बाह्रबिसे नगरपालिका–५ मा विद्युत्गृह र भोटेकोशी गाउँपालिका–५, चाकुमा बाँध निर्माण गरिरहेको छ । विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचनाबाहिरका सबै जसो भागबाट पानी चुहावट भएको छ । पानी चुहिएर खोलो बग्दा बस्ती नै भासिँदै गएर भोटेकोशीमा मिसिने त्रास बढेको भन्दै स्थानीयले खबरदारी गरेको बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो । 

विज्ञ टोलीले निरीक्षण गरेर सुरुङको मर्मतसम्भार गरिनुपर्ने, जमिन र घरसम्पत्तिको बिमा हुनुपर्ने, वडालाई सामुदायिक उत्तरदायित्वका बजेट उपलब्ध गराउनुपर्ने जस्ता माग स्थानीयले राखेको उहाँले बताउनुभयो । सुरुङको बोर्डरल्यान्डबाट पहिलो पटक विसं २०८० पुसमा पानी चुहिएको थियो । पानी चुहिएपछि आयोजनाले नौ महिना लगाएर सुरुङ मर्मतसम्भार गरेको थियो । त्यसपछि दोस्रो पटक २०८१ मा पनि सोही स्थानबाटै पानी चुहिएको थियो । 

आयोजनाले सुरुङमा रेट्रोफिटिङ प्रविधि अपनाएर काम अघि बढाएको थियो । गत असारमा पनि आयोजनाले सुरुङमा पानी पथान्तरण गर्दा तेस्रो पटक पनि बोर्डरल्यान्डबाटै पानी चुहिएको छ । सुरुङमा पानी चुहिँदासमेत विद्युत् उत्पादनतर्फ आयोजना लाग्दा स्थानीय घर छाडेर विस्थापित हुन थालेका छन् । अर्कोतर्फ आयोजनाका निमित्त प्रमुख सुदीप जोशीले भने सुरुङको संरचना स्थिर र सुरक्षित रहेको दाबी गर्नुभयो । सुरुङ आसपास र माथिल्लो भेगमा रहेको बस्तीलाई कुनै जोखिम नरहेको तथ्य उक्त कार्यव्रmममा प्रस्तुत गर्नुभएको थियो । 

प्रभावितबिच बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, सशस्त्र प्रहरी बल लामोसाँघुका प्रहरी नायब उपरीक्षक जगतबहादुर दुवालसहित अन्य सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । 

भदौ १० गतेअघिसम्ममा आयोजनाका उच्च तहका अधिकारी, स्थानीय प्रशासन प्रमुख, सुरक्षा प्रमुख, सङ्घीय तथा प्रदेश सभा सदस्य, जनप्रतिनिधिको उपस्थितिमा छलफल र निर्णय हुने छ । त्यतिबेला स्थानीयको माग सम्बोधन गर्ने आयोजना र प्रभावितबिच सहमति भएकोमा आयोजनाले जबरजस्ती विद्युत् उत्पादन गर्न खोजेमा आयोजनामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको न्यु खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारीका साथ मध्य भोटेकोशीले विद्युत् उत्पादन गर्न लागेको छ ।