बबई समाचारदाता
बबई (बर्दिया), साउन २७ गते । कालोपत्रे गरिएको एक महिना नपुग्दै बर्दियाको बारबर्दिया नगरपालिका अन्तर्गतको सडक भत्किन थालेको छ । सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदारको लापर्बाहीले करोडौँको लगानीमा कालोपत्रे गरिएको सडक सजिलैसँग भत्किन थालेको छ । सडक पूर्वाधार विकास कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–२, कुमरागाउँदेखि ढुग्रहीसम्मको सडक कालोपत्रे गरेको थियो । निर्माण गरिएको एक महिना नपुग्दै भत्किन थालेको छ ।
सडक निर्माण गर्न कार्यालयले २०८१ चैत २२ गते बैजनाथ बाँकेस्थित निश्चल कन्स्ट्रक्सनसँग ८३ लाख तीन हजार ८५४ रुपियाँमा सम्झौता गरेको थियो । सम्झौता अनुसार गत असार महिनामा सडक कालोपत्रे सम्पन्न गरिएको भए पनि साउन लाग्नेबित्तिकै सडक भत्कन सुरु भएको हो । सडक भत्किएपछि स्थानीय बासिन्दा र बडघरले नगरप्रमुख छविलाल थारूलाई अनियमितताको आशङ्का व्यक्त गर्दै उजुरी गरेका थिए । प्रमुख थारूले सडक पूर्वाधार विकास कार्यालयसँग छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यालय नै यसमा जिम्मेवार छ, यसमा अरूलाई दोष दिन मिल्दैन । बर्खाका कारण तत्काल पुनर्निर्माण गर्न कठिनाइ भएको छ ।” नेपालमा अत्यधिक लागत पर्ने अस्फाल्ट प्रविधिबाट बनेको सडक यति छिट्टै भत्किएपछि स्थानीयले आपत्ति जनाएका छन् । सडक पूर्वाधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्द महताराले भत्किएको जानकारी पाएपछि स्थलगत निरीक्षण गरिएको र ठेकेदारले क्षतिग्रस्त एक सय मिटर सडक पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।