• ८ भदौ २०८२, आइतबार

कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन २७ गते । यहाँका सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । आर्थिक वर्ष सकिएपछि जिल्ला छाडेर अधिकांश कार्यालय प्रमुख बाहिरिँदा सेवाग्राहीले सास्ती पाएका हुन् ।  प्रदेश तथा सङ्घीय सरकारमातहतका कार्यालय प्रमुख आर्थिक वर्षको असार मसान्तमा दिनरात काम गरेका जिल्ला छोडेर बाहिरिएको लामो समय बित्दा कार्यालय सुनसान बनेका छन् । असार मसान्त सकेपछि तालिम, गोष्ठी, कार्यालयको कामको सिलसिलामा जिल्ला छोडेका कार्यालय प्रमुख नफर्किएपछि सेवा प्रवाहमा समस्या भएको छ । अघि अघि कार्यालय प्रमुख, पछि पछि सहायक कर्मचारीले कार्यालय छोडेपछि गाउँबस्तीबाट आउने सेवाग्राही समस्यामा परेका छन् । 

भेरी नगरपालिका–३ का शिवप्रसाद शर्माका अनुसार सरकारी कार्यालयका प्रमुख यसरी लामो समय बाहिर बस्दा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । भेरी नगरपालिका, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय, बृहत् जलाधार व्यवस्थापन केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखलगायत सरकारी कार्यालयका प्रमुख बाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन् । स्थानीय सरकार, प्रदेश तथा सङ्घ सरकार अन्तर्गतका सरकारी कार्यालयले सेवा प्रवाह गरे पनि असारपछि जिल्ला छोड्दा काम लिएर सदरमुकाम पुगेका सर्वसाधारणले सास्ती पाउने गरेको उहाँले जनाउनुभयो । भेरी नगरपालिका–४ का अजय शर्माले लामो समय जिम्मेवार व्यक्ति जिल्लाबाहिर बसेपछि सहज रूपमा सेवा पाउन नसकेको गुनासो गर्नुभयो । सरकारी कार्यालयका प्रमुखको लापर्बाहीलाई स्थानीय प्रशासनले बेला बेलामा कार्यालयमा छड्के निरीक्षण अनुगमन नगरेका कारण मनोमानी बढेको छ । कार्यालय प्रमुख नहुँदा तल्लो तहका कर्मचारी पनि कार्यालयमा नबस्ने गरेको पाइएको छ ।