• ८ भदौ २०८२, आइतबार

ठडिए बाढीपहिरोपीडितका घर

blog

जुम्लाको सिँजा गाउँपालिका, चुलेलगाउँमा निर्माण भएको बाढीपीडितको घर । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता 

जुम्ला, साउन २७ गते । जिल्लाको सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वडको घर २०७९ सालको बाढीपहिरोले भत्काएपछि परिवार बिचल्लीमा परेको थियो । हप्तादिनसम्मको वर्षापछिको पहिरोले पूरै घर भत्किएपछि छिमेकीको घरमा उहाँले आश्रय लिनुभयो । श्रीमती, आफू र चार छोराछोरी कहिले पालमा त कहिले अर्काको घरमा बस्दै दिन काटेको कर्णजीत बताउनुहुन्छ । कर्णजीतसँगै चुलेलगाउँकै धनराज वडको अवस्था पनि उस्तै थियो । घर भत्किएर परिवार, लत्ताकपडा सबै नष्ट भएपछि नयाँ जोड्न हैरान भयो । सोही गाउँका देवीकृष्ण आचार्यको घर भत्किएर दुई वटा गाईसमेत पुरिएका थिए । 

२०७९ असोज १९ देखि २६ गतेसम्म जुम्लामा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जुम्लामा १० जनाको मानवीय क्षति हुनुका साथै धेरै घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । सोही समयमा जिल्लाको सिँजा गाउँपालिकामा पनि धेरै घर पूर्ण क्षति भए । नागरिकका घर क्षति भएपछि स्थानीय सरकारले पहिलो चरणमा राहत व्यवस्थापनमा जोड दियो । अहिले सानोतिनो लगानीमा विपत्ले पूर्ण क्षति भएका घर धमाधम निर्माण भइरहेका छन् । घर निर्माण भएपछि पहिरोपीडित खुसी भएका छन् । कर्णजीतले सरकारले ढिलै भए पनि सानो सहयोग गर्ने भनेपछि घर निर्माण भएकोमा धन्यवाद दिनुभयो ।  

सिँजा गाउँपालिका–२ का वडाध्यक्ष तथा सिँजा गाउँपालिका जुम्लाका प्रवक्ता तीर्थ वडका अनुसार २०७९ सालको बाढीपहिरोले वडा नं. २ मा ३२ वटा घर पूर्ण क्षति भएका थिए । जसमा वडा नं. २ को चुलेलगाउँमा मात्रै १९ बाट घर भत्किएका थिए । दलित बस्तीका मात्रै १४ वटा घर भत्किएर बिचल्ली भएको थियो । वडाध्यक्ष वडले गाउँपालिका सङ्घीय सरकार र स्वयम् घरधनीको साझेदारीमा १४ वटा घर स्थानीय ढुङ्गामाटो प्रयोग गरी निर्माण भएका छन् । वडा नं. २ अन्तर्गत घोड्गामा पाँच वटा घर, विष्टवाडा गाउँमा तीन वटा, रनुखानामा दुई वटा र अवस्थीवाडामा दुई वटा घर निर्माण भइसकेका छन् । गाउँपालिकाको ५० हजार रुपियाँ, विपत् प्राधिकरण केन्द्रबाट पहिलो ४५ हजार रुपियाँ सहयोग भएर घर पुनर्निर्माण भएको र अर्को किस्ता सङ्घीय सरकारले दिने भएको छ ।  

यसै गरी सिँजा गाउँपालिकाले २०७९ सालको बाढीपहिरोमा भत्किएका घर विभिन्न वडामा प्राथमिकता अनुसार निर्माण सुरुवात गरेको छ । अध्यक्ष पूर्णप्रसाद धितालले बाढीपीडितले अब सिँजामा चुहिने घर र पालको बास बस्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । उहाँले पूर्ण रूपमा क्षति भएका १४६ घरका लागि विपत् प्राधिकरणबाट पहिलो किस्ताबापतको बजेट आइपुगेको जानकारी दिनुभयो । यसका साथै साझेदार संस्था पेस नेपालले पुनर्निर्माण गर्न साझेदारी गरेको छ । विपन्न व्यक्तिका २८ घर बनाउन जर्मनी कारितास नेपालको आर्थिक सहयोगमा सञ्चालित उत्थान परियोजनाबाट प्रतिघर ५० हजार रुपियाँका दरले सहयोग भएको छ । जस अन्तर्गत नौ वटा घर बनिसकेका छन् ।