कालीकोट समाचारदाता
कालीकोट, साउन २७ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा ‘घर घरमा पिउने पानी’ अभियान तीव्र पारिएको छ । विगतमा खोल्साखोल्सी र गाउँभन्दा टाढाको मूलको पानीका भरमा गुजारा चलाउँदै आएका स्थानीय बासिन्दाले अहिले केही हदसम्म घरमै धाराबाट पानी खाने अवस्था बनेको छ ।
पूर्ण रूपमा शुद्ध र नियमित पानी आपूर्ति अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ । रास्कोट नगरपालिकाले २०७५ सालदेखि साना र मझौला खानेपानी योजना सञ्चालन गर्दै आएको छ । ती आयोजना दिगो भने हुन सकेका छैनन् । रास्कोट नगरपालिका–२ को भहन्थान खानेपानी आयोजना, कैलाशथान खानेपानी आयोजना, कोटेकाँडा खानेपानी आयोजना दिगो हुन नसकेका उदाहरण बनेका छन् । बनेको छ महिनामै जीर्ण भएकाले आयोजनाको दिगोपनाका लागि आवश्यक योजना बनाउनुपर्ने स्थानीयको माग छ ।
रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालका अनुसार, प्राथमिकताका साथ खानेपानीका आयोजना अघि बढाएको र अहिले वडा नं. १, ३ र ४ मा आंशिक रूपमा धारा जडान भइसकेको छ । अघिल्लो सरकारले वडा नं. ८, २, ७ र ६ का केही बस्तीमा खानेपानीको व्यवस्था गरेको थियो । यसको दिगोपनाका लागि पनि छलफल भइरहेको उपप्रमुख बरालको भनाइ छ ।
स्थानीयका अनुसार सबैतिर व्यक्तिको खेतीयोग्य जमिन भएकाले खानेपानी पाइप लाइन बिछ्याउन कठिनाइ छ । खेत जोत्दा हलो पाइपमा अड्किने भएकाले जग्गाधनीले प्रायः खेतबाट लाइन बिछ्याउन दिँदैनन् । स्थानीय लीलाराज न्यौपानेले खेतीयोग्य जमिनबाट पाइप बिछ्याएर ल्याएका कारण किसानले खेत जोत्दा पाइप लाइन बिगार्ने गरेको बताउनुभयो ।
उहाँले मर्मतका लागि पटक पटक नगर सरकारसँग माग गरेको तर बजेट अभाव भन्ने गरेकाले निर्माण सम्पन्न भएको केही महिनामा आयोजना जीर्ण हुँदा पानी अभाव उस्तै हुने गरेको न्यौपानेको भनाइ छ । सुक्खा मौसममा स्रोत नै सुकेर जाने र वर्षायाममा बाढीले पाइप बगाउने समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खानेपानी सरसफाइ ऊर्जा विकास कार्यालय, दातृ निकाय तथा प्रदेश सरकारबिचको सहकार्यलाई थप मजबुत पारेर दीर्घकालीन योजना ल्याउनुपर्ने स्थानीय नमराज चौलागाईंले बताउनुभयो ।
उहाँका अनुसार कार्यालयसँग धेरै पटक माग गरेको तर माग कार्यालयले खासै नसुन्ने भएकाले कि नगर सरकारले व्यवस्थापन गर्नुपर्ने कि त भने आफ्नो नगरपालिकाभित्रका नागरिकको समस्या जोडदार रूपमा माथिल्लो सरकार र खानेपानीको क्षेत्रमा काम गर्दै आएकासँग छलफल गर्न आवश्यक छ ।