• २ भदौ २०८२, सोमबार

पाँच कार्टुनिस्टलाई बराथा सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २७ गते । कार्टुन चित्र लेखन तथा विकासमा योगदान दिने पाँच कार्टुनिस्टलाई सोमबार राजधानीमा ‘बराथा स्मृति सम्मान’ प्रदान गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सो सम्मान प्रदान गर्नुभएको हो । कार्टुनिस्ट क्लब अफ नेपालले प्रदान गर्दै आएको सो सम्मान २०७७ सालदेखि विविध कारणले रोकिएको थियो । कार्टुनिस्ट बलराम थापा (बराथा) को स्मृतिमा क्लबले सो सम्मान स्थापना गरेको हो । कुलपति हार्तम्छालीले नेपाली कलाको लोकप्रियतामा कार्टुन कलाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै एनिमेसन कार्टुनलाई समेत कार्टुन अनुसन्धान र सिर्जनामा जोड्दै लैजानुपर्ने बताउनुभयो ।

सो अवसरमा कार्टुनिस्ट अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी र अविन श्रेष्ठलाई ‘बराथा स्मृति सम्मान’ प्रदान गरिएको थियो । कार्टुनिस्ट राजेश केसीको सम्मानपत्र रवि मिश्रले ग्रहण गर्नुभएको थियो । 

सम्मान सिफारिस समितिका सदस्य केशवराज खनालले सम्मानित पाँचै कार्टुनिस्टको सङ्क्षिप्त परिचय दिनुभएको थियो । कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली, प्राज्ञ सौरगङ्गा दर्शनधारी, पाल्साङ्मो लामालगायतको उपस्थिति थियो ।