गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अस्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाल–अस्ट्रेलियाबिचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औँ वर्षमा प्रवेश गरेको प्रसङ्ग स्मरण गर्दै जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाललाई प्रदान हुँदै आएको अस्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
मन्त्री खड्काले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई विशेष गरी ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्दै राजदूत जोनस्टनको नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
छलफलमा राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस योजनामा अस्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिनुभयो ।
राजदूत जोनस्टनले नेपाल सरकारको ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१ को सफल कार्यान्वयनका शुभकामना दिँदै मन्त्री खड्कालाई आगामी सेप्टेम्बर २०२५ मा फ्रान्सको राजधानी पेरिसमा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो ।