• २ भदौ २०८२, सोमबार

रोपियो सैँतिस जातका चिनियाँ वर्णशङ्कर धान

blog

नेपालका लागि चीनका राजदूत चेन सोङसहितका व्यक्तित्व रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा धान रोप्दै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, साउन २७ गते । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा ३७ जातका वर्णशङ्कर धान रोपिएको छ । 

चीनको प्रादेशिक क्षेत्रमा विकास गरेको धानलाई चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एक महिनाअघि बिउ राखिएको थियो । विभिन्न जातका धानका बिउ चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको हो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक तथा परियोजना कार्यक्षेत्र संयोजक राजु खरेलले नेपालको वातावरणमा सुहाउने जातको धान विकास गरेपछि चीन सरकारको सहयोगमा विश्वविद्यालय परिसरमा रोपिएको जानकारी दिनुभयो । 

एक महिनादेखि हुर्काएर राखिएको धानको बिउ नेपालका लागि चीनका राजदूत चेन सोङको उपस्थितिमा रोपिएको हो । धान रोपाइँ कार्यक्रममा राजदूत सोङले नेपालमा धानको सफल परीक्षण भएर फल्ने भएपछि थप सहयोग गर्न तयार भएको बताउनुभयो । 

उहाले भन्नुभयो, “गरिबी निवारण अन्तर्गतको यो एउटा कार्यक्रम हो । पहिला मानिस बाँच्नु पर्दछ । बाँच्नका लागि खाना आवश्यक छ । मानिसको प्रमुख खाना भात हो, त्यो धानबाट प्राप्त हुन्छ । त्यसैले थोरै ठाउँमा धेरै फल्ने जातका धान हामीले सहयोग गरेका छौँ ।” उहाँले आउँदा दिनमा पनि नेपाललाई सहयोग गर्दै जाने बताउनुभयो । 

राजदूत सोङले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बिउको उपहार नेपाललाई दिएको जानकारी दिँदै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको बताउनुभयो । आउँदा वर्षमा नेपालमा धान उत्पादन बढाउन थप सहयोग गर्ने जानकारी दिनुभयो । 

कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले चीन सरकार, नेपाल सरकार, स्थानीय सरकारलगायत विभिन्न सङ्घ संस्था र विज्ञको सहयोगले वर्णशङ्कर धान यहाँ आउन सफल भएको बताउनुभयो । परीक्षण सफल भएमा नेपाली किसानको खेतमा रोपिने बताउनुभयो । उहाँले खाद्यान्न उत्पादन हरेक वर्ष वृद्धि गर्नुपर्ने बाध्यकारी अवस्थामा यस्तो कार्यक्रमले धेरै मद्दत पुग्ने बताउनुभयो । 

परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धान तीन वर्षसम्म रोपेर उत्पादन राम्रो दिन थालेपछि किसानमा लैजाने तयारी छ । परियोजना कार्यक्षेत्र संयोजक राजु खरेलले सोमबार रोप्न थालिएको धान एक हप्ता लगाएर सबै जातका बिउ रोपिसकिने जानकारी दिनुभयो । परीक्षणका लागि ल्याइएको धानका विषयमा जिल्लामा रहेका व्यावसायिक तथा अन्य किसानलाई जानकारी गराउने, महत्वको विषयमा थप उल्लेख गर्ने जस्ता कार्यक्रम रहेको बताउनुभयो । 

विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्कर जातका धान सँगै उत्पादन गरेर अध्ययन गर्ने छ । भारतबाट नेपाल आएर प्रचलनमा रहेका वर्णशङ्कर जातका धानको उत्पादन र चीनबाट ल्याएका धानको उत्पादनलाई तुलना गरिने छ । 

चीनको धानले राम्रो उत्पादन दिन सकेमा यसको प्रचारप्रसार गरेर नेपालका किसानलाई वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । धान रोपाइँ कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललगायतको सहभागिता थियो ।