• २ भदौ २०८२, सोमबार

‘नेपालगन्ज–दिल्ली उडानका लागि कुरा गर्छु’

blog

नेपालगन्ज–दिल्ली उडानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरोकार समूह । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि भारतसँग पहल गर्न अनुरोध गर्दै सरोकार समूहले सोमबार ध्यानाकर्षणपत्र बुझाएको छ । बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायी सम्मिलित नेपालगन्ज–दिल्ली उडान दबाब समूहको एक टोलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो । 

नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक एवं नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले प्रधानमन्त्री ओलीले मागपत्र बुझ्दै आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गर्ने विश्वास दिलाएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गर्नुभएको जनाउँदै संयोजक धामीले उडानका बारेमा प्रधानमन्त्री निकै सकारात्मक देखिनुभएको बताउनुभयो । “मैले भारतीय समकक्षीसमक्ष यो कुरा राख्ने छु, अब हेरौँ उहाँले के जवाफ दिनुहुने छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै धामीले सुनाउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अहिले नेपालगन्ज विमानस्थललाई समेत अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलका रूपमा स्तरोन्नति गरिएकाले उडान सुरु गर्ने बेला आएको हुँदा सोका लागि अनुरोध गरिएको बाँकेका जनप्रतिनिधि र उद्योगी व्यवसायीले बताउनुभयो । यसअघि बाँकेको सो टोलीले परराष्ट्रमन्त्री डा. आरजु राणा र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको थियो । परराष्ट्रमन्त्री डा. राणाले यो उडानले नेपाल र भारतबिच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउने तथा यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याउने हुँदा यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको नेपालगन्ज–दिल्ली उडान दबाब समूहका संयोजक धामीले बताउनुभयो । यसअघि बाँकेको सो टोलीले नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यालयमा एक बृहत् छलफल कार्यक्रमको आयोजना गरेर उक्त उडान र त्यसबाट हुने फाइदाका बारेमा विचार विमर्श गरेको थियो । 

नेपालगन्ज–दिल्ली उडान सुरु गर्न सकिए भारतका धार्मिक र अन्य पर्यटकलाई ठुलो सङ्ख्यामा यस क्षेत्रमा ल्याउन सकिने, कैलाश मानसरोवर जाने भारतीय पर्यटक यहाँ ल्याउने र यस क्षेत्रबाट औषधी उपचारलगायत अन्य काम विशेषले दिल्ली जानेलाई सहज हुने जनाइएको छ ।