• ९ भदौ २०८२, सोमबार

नेपाली कांग्रेस बैठक

भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशिका पारित

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २७ गते । नेपाली कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न निर्देशक समितिको कार्यसम्पादन निर्देशिका जारी गरेको छ । कांग्रेस पदाधिकारी र महाधिवेशन गर्ने सन्दर्भमा गठित ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ को सोमबार सम्पन्न संयुक्त बैठकमा कार्यसम्पादन निर्देशिका परिमार्जनसहित पारित गरिएको हो । 

केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बाँकी भ्रातृ संस्थाको महाधिवेशन गर्नका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन निर्देशिका तयार पार्नुभएको हो । नेता विश्वकर्माले भन्नुभयो, “कार्यादेश र कार्यसम्पादन निर्देशिका प्रस्ताव र छलफल गरी परिमार्जनसहित पारित गरियो । महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाको महाधिवेशन तोकिएको मितिमा गर्नका लागि थप निर्देशन जारी भयो । महाधिवेशन गर्नका लागि निर्देशन समितिलाई पूर्ण अधिकार दिइयो ।”

कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न २०८१ मङ्सिर २६ गते १० वटा भ्रातृ संस्थाको ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरिएको थियो । नेता विश्वकर्माका अनुसार कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल थारू सङ्घ र नेपाल किसान महासङ्घको महाधिवेशनमा हुन सकेको छैन । 

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ साउन २३ गतेको निर्णय अनुसार महाधिवेशन २०८१ चैत मसान्सम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन गर्न सभापति शेरबहादुर देउवाले समिति गठन गर्नुभएको थियो तर आठ महिना पूरा हुँदा पनि कांग्रेसका भ्रातृ संस्थाको महाविधेशन भएको छैन ।