• ३१ वैशाख २०८३, बिहिबार

विपिनका आमा र दिदी इजरायलतर्फ

blog

राधा चालिसे

काठमाडौँ, साउन २७ गते । विपिन जोशीकी आमा पद्मा र दिदी पुष्पा जोशी सोमबार इजरायलतर्फ जानुभएको छ । उहाँहरूलाई नेपालका लागि इजरायली राजदूत स्मुलिक अइर बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।   

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरेर आतङ्क मचाउँदा सुरक्षित घरमा लुकेर बसेका आफूसँगै रहेका केही नेपाली साथीलाई बचाउने प्रयासमा लाग्दालाग्दै विपिन अन्य इजरायलीसँगै बन्धक बनाइएको इजरायल सरकारले जनाउँदै आएको छ । उहाँलाई हमासको कब्जाबाट मुक्त गराउन विभिन्न तहबाट प्रयास भइरहे पनि त्यो सफल हुन सकेको छैन । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले सार्वजनिक गरेको भिडियोमा विपिनलाई हमासले समाएर लगेको देखिएको बताएको छ । 

हमासले विपिनलगायत अन्य ४९ जना इजरायलीलाई कहाँ र कुन अवस्थामा राखेको भन्ने कुनै जानकारी प्राप्त हुन नसकेको इजरायल स्पेसल फेर्सका क्याप्टेन नदाब बेन यसुदाले केही दिनअघि इजरायल भ्रमणमा रहेका नेपाली पत्रकारलाई जानकारी गराउनुभयो । सोही घटनामा परी उहाँसँगै रहेको १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।  

कञ्चनपुरका विपिन नेपाल र इजरायली सरकारबिच भएको सम्झौता अनुसारको ‘सिक र कमाउ’ कार्यक्रममा इजरायली कृषि प्रविधि सिक्न त्यहाँ पुग्नुभएको थियो । यद्यपि इजरायल सरकारले उहाँलाई बन्धनमुक्त गराउन इजरायली नागरिक सरह नै प्राथमिकतामा राख्दै आएको छ । इजरायली सरकारका सबैजसो उच्च पदाधिकारीले विपिनलाई बन्धकमुक्त बनाउने सवालमा इजरायली सरह नै प्राथमिकतामा दिइएको नेपाली पत्रकारलाई बताएका छन् । नेपालस्थित इजरायली दूतावासकी डिसिएम जनान बिबर भन्नुहुन्छ,  “४९ जना इजरायली र नेपालका विपिनलाई हमासको बन्धनबाट मुक्त गराउनु हाम्रो उत्तिकै जिम्मेवारी हो । त्यसमा इजरायल सरकारले कुनै सम्झौता गर्ने छैन ।”

हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई इजरायल सरकारले इजरायली नागरिक सरह नै भत्ता दिँदै आएको छ । घाइते भएका विद्यार्थीको पूर्ण उपचारको जिम्मा लिएको छ । साथै पुनः इजरायल फकर्रे थप अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति प्रदानसमेत गर्दै आएको नेपालका लागि इजरायली राजदूत बासले जानकारी दिनुभयो ।