नागेन्द्रकुमार कर्ण
महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लाको बलवा नगरपालिका-३, वदियास्थित रातु नदीमा आइतबार आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ।
यसरी मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-३, डाम्ही निवासी ३५ वर्षीय चन्दन ठाकुर रहेको स्थानीयवासीले जानकारी दिएको छ । बाढी आएको बेला झोलुँगे पुल तर्ने क्रममा एक्कासि उनी नदीमा खस्न पुगेका थिए ।
साइकल चढी ट्याक्टरको डिजल ल्याउन पडौल गएको र डिजल लिएर डाम्ही स्थित घर फर्किंदै गरेको बेला उनलाई रातु नदीले बगाएको स्थानीय युवा राजकुमार साहले जानकारी दिनुभयो । उत्तरवर्ती क्षेत्रमा परेको पानीको कारणले रातु नदीमा बाढी आएको हो ।
स्थानीयवासीहरूले पानीको बहाव धेरै रहेकोले अहिले पुल पारी नजान भने पनि उनी पिठ्युमा साइकल बोकेर पुल पार गर्न खोजेपछि एक्कासि लडेर बाढीमा बगेको जानकारी दिनुहुदै स्थानीय युवा साहले भन्नुभयो, "पुलबाट साइकलसहित खसेका युवा ठाकुरलाई उद्दार गर्ने प्रयास तत्कालै गरिए पनि पानीको तेज बहावको कारणले उनलाई बचाउन सकिएन ।"
साइकलसहित नदीमा लडेका उनलाई तत्कालै स्थानीयवासीहरूले उद्धारको प्रयास गरे पनि उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिनुहुँदै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र सोमबार पोस्टमार्टम गरी शव परिवारजनलाई जिम्मा लगाई सकिएको बताउनुभयो ।
रातु नदीमा आएको बाढीको कारण जिल्लाको बलवा, महोत्तरी गाउँ पालिकाको कृषियोग्य खेतहरू डुवानमा परेका छन् । खेतहरू डुवानमा पर्न थालेपछि महोत्तरी गाउँपालिका स्थित सिडियो बाँध खुला गरिएको थियो ।
महोत्तरी गाउँपालिकाका पूर्व अध्यक्ष सुनिल यादवले महोत्तरीमा सिँचाइका लागि रहेको सिडियो बाँधमा पानी बढी भएपछि बाँध खोलिएको जानकारी दिनुहुँदै अहिले सो क्षेत्रमा पानी घटदै गएको बताउनुभयो ।