सन्तोष दहित
दाङ, साउन २६ गते । घोराही उपमहानगरपालिका-८, सौरीकुला गाउँमा निर्माण हुन लागेको थारू समुदायको परम्परागत ठाँटी घर र बहुउद्देश्य मटाँवा सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
थारू कल्याणकारिणी सभा दाङको पहलमा लुम्बिनी प्रदेश सरकारको सहयोगमा झण्डै डेढ करोड निर्माणमा हुन लागेको ठाँटी घर र सभा हलको निर्माण अन्तिम चरणमा पुगेको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभा हलको निर्माण काम ८० प्रतिशत सम्पन्न भएको छ । ठाँटी घर र सभाहल निर्माणको अनुगमन गर्दै अध्यक्ष चौधरीले दशैतिहार अगाडि सम्पूर्ण निर्माण काम सम्पन्न हुने बताउनुभयो ।
सभाहल निर्माण भएपछि मटावाँहरूको भेला, कचेहरी गर्नमा सहज हुने उहाँले बताउनुभयो । यसअघि मटावाँहरूको आफ्नो घर थिएन, उहाँले भन्नुभयो, अब मटावाँहरूको आफ्नै सभा हल र ठाँटी घर बन्दै छ, त्यो पनि व्यवस्थित । सदियौं देखि मटावाँहरूले गाउँको सामाजिक, न्यायिक तथा विकासको काम गर्दै आए पनि आफ्नो घर नहुदा बैठक, भेला गर्न खुला आकाशमा गर्नुपर्थ्यो, उहाँले भन्नुभयो, अब यी संचरणा निर्माण सम्पन्न भएपछि मटावाँहरूलाई मात्र नभई अन्य विभिन्न कार्यक्रम गर्नलाई पनि सहज हुन्छ ।
१३ मिटर चौडर र ४० मिटर लम्बाइमा निर्माण हुन लागेको एक तल्ले आधुनिक मटावाँ सभाहल बन्न लागको उहाँले जानकारी दिनुभयो । निकट भविष्यमा थारू सङ्ग्रहालय बनाउने र यस ठाउँ, गाउँको विकासका लागि होमस्टे निर्माण गर्न अवधारणा पनि अगाडि बढाउन लागिको अध्यक्ष चौधरीको भनाइथियो । थारूहरूकाे बस्ती भएकोले यस गाउँलाई नमुनाको गाउँको रूपमा विकास गर्दै थारू होमस्टे सञ्चालनमा ल्याउने, विस्तारै यस ठाउँलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने आफुहरूको योजना रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
घरकै आँगनमा सुविधा सम्पन्न आधुनिक मटावाँ सभा हल र ठाँटी घर निर्माण थालिएपछि स्थानीय थारू समुदामा उत्साह छाएको छ । गाउँमा भइरहेको यस नयाँ विकासले थप अवसर र परिवर्तन ल्याउने विश्वास स्थानीय शोभाराम चौधरीले व्यक्त गर्नुभयो । उहाँका अनुसार सभा हल निर्माण भएपछि यहाँ दैनिक रूपमा विभिन्न कार्यक्रम हुने भएकाले गाउँमा व्यापार–व्यवसायको गति बढ्ने छ ।
साथै, सभा हल र ठाँटी घरसँगै आफुहरू थारू होमस्टे सञ्चालन गर्ने योजना बनाइरहेको बताउनुभयो । होमस्टे सञ्चालनमा आएमा स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना हुने, थारू परिकारको प्रवर्धन हुने र गाउँ आर्थिक रूपमा स्वावलम्बी बन्दै व्यवसायिक केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको उहाँलेले बताउनुभयो । यस्तै सांस्कृतिक पहिचान संरक्षणसँगै पर्यटनको माध्यमबाट गाउँको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।