रामकृष्ण बोहरा
बागलुङ, साउन २६ गते । ठेकेदारको चरम लापरवाहीले विकास निर्माणका काम वर्षाैंदेखि थाती रहेका बेला दक्षिण बागलुङको जैमिनीमा भने निर्माण अवधिभन्दा एक वर्षअगावै पुलको काम सम्पन्न भएको छ । पुल निर्माणको काम निर्धारित समयभन्दा छिटो सकिँदा दक्षिण बागलुङका नागरिकले राहतको महसुस गरेका छन् ।
दक्षिणको व्यापारिक केन्द्र कुश्मिसेरा बजारदेखि बरेङ गाउँपालिका हुँदै गुल्मी जिल्लाको शान्तिपुर जोड्ने सडकको जैमिनी नगरपालिका ९ पैयुँथन्थाप र वडा नं. १० राङखानी जोड्ने रुम्टाखोला पुल निर्माण एक वर्ष छिटो सकिएको हो । २०८३ वैशाख १० गते पुल सम्पन्न गर्नेगरी सूर्योदय कन्स्ट्रक्सन पर्वतले २०८१ साल वैशाख ११ गते ६ करोड ९ लाख ४६ हजार ३ सय ६७ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण व्यवसायीले पर्याप्त मजदुर परिचालन गरेर कामलाई निरन्तरता दिएपछि एक वर्षअघि नै पुल निर्माण सम्पन्न भएको हो । पुलको अन्तिम चरणमा पुगेकाले बर्खामा सवारीसाधन सञ्चालन गर्न पुलसँग जोडिएको सडक मर्मत गरिएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्दप्रसाद चौधरीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर रुम्टाखोला पुल निर्माण गरेको हो । पुल परिसरमा मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको इन्जिनियर चौधरीले जानकारी दिनुभयो ।
समयमै पुल बनेपछि दक्षिण बागलुङको यात्रा सहज बनेको छ । रुम्टाखोलामा पुल नहुँदा बर्खायाममा सवारी आवागमन ठप्प हुनुका साथै उर्लिदो भेलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘‘पुल बनेपछि अब बर्खामा पनि ढुक्कले यात्रा गर्ने दिन आएको छ’’ राङखानी देउरालीका मित्र थापाले भन्नुभयो, ‘‘बर्खामा खोला बढ्दा धेरै मोटरसाइकल बगाएका घटना थिए, अब दोहोरिने छैनन् ।’’
बर्खायाममा रुम्टाखोलामा पानीको बहाब बढ्दा कुश्मीसेरा बजारबाट सर्कुवा हुँदै राङखानीको व्याडथला र डाँडाखानी निस्केर बरेङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । राङखानी व्यावसायिक कृषि क्षेत्रमा पनि उर्वरभूमि मानिन्छ । त्यहाँ उत्पादन भएका तरकारी रुम्टाखोलामा पुल नहुँदा कुहाएर फाल्नुपर्ने बाध्यता थियो । ‘‘पुलले गाउँघरमा उत्पादित कृषि उपज ढुवानी गर्न सहज हुनुका साथै यात्राको दुरी समेत छोटिएको छ’’ अगुवा कृषक रहनुभएका थापाले भन्नुभयो ।
२०६५ सालमा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि कुस्मीसेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टाखोलामा पुल नहुँदा जैमिनीका दुई वडा पैयुँथन्थाप र राङखानीसंगै बरेङ गाउँपालिकाका नागरिकले बर्खामा सास्ती खेप्दै आएका थिए । ‘‘रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मीका नागरिकलाई यात्रा गर्न सहज भएको छ,’’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भन्नुभयो ।