• २२ असार २०८१, शनिबार

प्रदेश १ को मुटुको रुपमा रहेको विराटनगरको साख कसरी जोगाउने : सांसद सङ्ग्रौला

blog

काठमाडौं, असार ९ गते । सांसद डा. डिला सङ्ग्रौला पन्तले विराटनगर औद्योगिक साख फिर्ता गर्ने ठूलो चुनौती रहेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद डा. सङ्ग्रौलाले प्रदेश १ को मुटुको रुपमा रहेको विराटनगरको औद्योगिक साख कसरी जोगाउने भन्ने ठूलो चुनौती रहेको बताउनुभएको हो ।

विराटनगर एक राजनैतिक, औद्योगिक एवम् शैक्षिक हबको रुपमा रहेको बताउनुहुँदै उहाँले यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन रहेको जानकारी दिनुभयो ।

विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैन । केन्द्रको दूरदृष्टि पुग्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन् । मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ । त्यहाँका मजदुर एवम् कामदारहरु बिचल्लीमा छन् ।’’

यसैगरी, औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विशेष गरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ करिडोरका धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

‘‘उद्योग बचाउन सरकारले विशेष योजना सञ्चालन गर्नुपर्दछ । कृषि अग्रणी प्रदेश भएर पनि कृषिमा आधारित उद्योग सञ्चालन नहुँदा प्रदेशको गार्हस्थ उत्पादनमा समेत कृषि क्षेत्रको योगदान घट्दो अवस्थामा पुगेको छ । युवालाई नव प्रविधिमा अधारित कृषि उद्यममा जोड्नुपर्दछ ।,’’ उहाँले भन्नुभयो ।