• १५ फागुन २०८२, शुक्रबार

कांग्रेस नयाँ नेतृत्वसहितको पार्टी हो : उपसभापति शर्मा

blog

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नवलपुरको दुम्किवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, फागुन १५ गते ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछिका सबैभन्दा बदलिएर, नयाँ र युवा नेतृत्वसहित आएको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्नुभएको छ ।

उपसभापति शर्माले हेलिकोप्टरमार्फत नवलपुरको दुम्किवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘‘जेनजीले विकास, प्रशासन र राजनीतिक दलका सबै अनुहारमा परिवर्तन चाहेका थिए। उनीहरूको चाहना अनुसार नीति, नियत, विचार, नेतृत्व र दृष्टिकोण सबै बदलिएर आएको पार्टी नेपाली कांग्रेस मात्र हो। त्यसैले देशको अनुहार बदल्नको लागि कांग्रेसलाई मतदान गर्नुहोस्।’’

उहाँले कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा तयार पारिएको प्रतिबद्धता पत्रले काम नभई भाषण मात्र हुने अवस्था नरहेको पनि दाबी गर्नुभयो। ‘‘विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस नयाँ भएर आएको छ। पुरानो विकल्प रोज्नु भयो भने पनि कांग्रेस, नयाँ र युवा नेतृत्व रोज्नु पर्दा पनि कांग्रेस,’’ उहाँले भन्नुभयो।

शर्माले आफ्नो पार्टीलाई साहित्यकार बैरागी काँइलासँग तुलना गर्दै भन्नुभयो, ‘‘बैरागी काँइला पुरानो साहित्यकार हुन, तर नयाँ पुस्तक निकाल्नु भयो भने त्यो नयाँ हुन्छ। त्यसैगरी समाजलाई नयाँ दृष्टिकोणले अघि बढाउन कांग्रेस उपयुक्त विकल्प हो।’’

उहाँले नवलपुर क्षेत्र नं. २ को विकासको जिम्मा कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीमार्फत भावी प्रधानमन्त्री गगन थापालाई दिन मतदातालाई आग्रह गर्नुभयो। ‘‘गगन थापालाई प्रधानमन्त्री बनाउँदा प्रतिनिधि सभामा हामीलाई ओमबहादुर घर्ती चाहिन्छ। नवलपुरको समृद्धि र विकासको जिम्मा ओममार्फत गगनलाई दिनुहोस्,’’ उहाँले भन्नुभयो।

कांग्रेस उम्मेदवार घर्तीले आफूले अघि सारेका योजनाहरू व्यक्तिगत नभई भावी प्रधानमन्त्री गगन थापाको साझा योजना भएको उल्लेख गर्नुभयो। उनले निर्वाचित भएमा गण्डकी प्रदेशले अघि सारेको विनयी त्रिवेणीदेखि कोरना नाका र गैँडाकोटदेखि त्रिवेणीसम्म नारायणी नदीको तटबन्ध र काेरिडोर, सुकुम्वासी समस्या, मध्यवर्ती क्षेत्रका समस्या समाधान र आलोक चक्रपथलाई उच्च प्राथमिकतामा राखेर संसदमा भूमिका निर्वाह गर्ने योजना रहेको बताउनुभयो।