• १५ फागुन २०८२, शुक्रबार

मुस्ताङको साङ्ता गाउँ जाने सडकमा चट्टान बनेको हिउँ फोड्ने प्रयास जारी

blog

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,साङ्ता गाउँ जाने सडकमा जमेको हिउँ पन्छाउँदै । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), फागुन १५ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमै चिसोले करिब १२ फिट अग्लो चट्टान बनेको हिउँ पन्छाउन हम्मेहम्मे परेको छ । जोमसोम–डोल्पा जोड्ने सडकखण्ड अन्तर्गत झेकिलाडाँडा, बताँते हुँदै साङ्ता गाउँ जोड्ने सडकमा बाख्लो हिउँको चट्टान विगत तीन दिनदेखि डोजरको सहायतामा फोड्ने प्रयास भइरहेको छ । 

सडकखण्डमा हिउँ ढुङ्गाजस्तै जमेको अवस्थामा पैदलसमेत हिँड्नै नमिल्ने अवस्थामा सडक नियमित सञ्चालन गर्न वडाध्यक्ष सुरेन्द्र गुरूङले बताउनुभयो । वडाध्यक्ष गुरूङले भन्नुभयो, 

‘‘सडकमा जमेको बरफ फुटाउने अझै दुई दिन लाग्छ,हिउँ सतहदेखि पहाडसम्म टाँसिएर बाक्लो तह बनेको छ ।’’

वडाध्यक्ष गुरूङका अनुसार हिउँ पन्छाउने काम सुरू भएपछि आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ जाने स्थानीय सम्पर्कमा आउन थालेका छन् । सडकमा जमेको हिउँ पन्छाउन राष्ट्रिय अनुसन्धान अधिकृत विष्णु पण्डितको संयोजकत्वमा सहायक प्रजिअ एकराज भण्डारी सहित सुरक्षा निकायको टोलीले सडक सञ्जालमा जमेको यातायातका साधान सहजै जान सक्ने जनाएको छ । समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको गाउँमा सदरमुकाम जोमसोमबाट करिब ४० किमी लाग्छ । गाउँबाट चिसो छल्न झरेकाहरूलाई जिल्ला निर्वाचन कार्यालयले छिमेकी फलेक धाकारजुङ, पाक्लिङ गाउँमा बसेका छन् भने पोखरा, काठमाडाैँ गएकाहरू फर्किने चरणमा छन् । 

१३ घरधुरी रहेको साङ्ता गाउँको हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता छन् । जिल्ला सुरक्षा समितिले साङ्ता गाउँसहित  उपल्लो मुस्ताङको दुई गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकाेप्टरको प्रयोग गर्नुपर्ने जनाएको छ । 

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।