• १५ फागुन २०८२, शुक्रबार

निर्वाचनमा हिमाली क्षेत्रमा जाने कर्मचारीका लागि ‘पोर्टेबल अक्सिजन क्यान’ र औषधीको व्यवस्था

blog

विभिन्न मतदानस्थलमा पठाउनका लागि निर्वाचन सामग्री तयार गरिँदै । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन १५ गते । गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्ला म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई ‘पोर्टेबल अक्सिजन क्यान’ तथा ‘अल्टिच्युड सिकनेस’ सम्बन्धी औषधिको व्यवस्था गरिने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी, प्रदेश पोखराका प्रमुख नारायण ढकालले मतदानस्थलसम्म पुग्न दुर्गम तथा हिमाली क्षेत्रका मतदातालाई सहजता मिलाउन ३ हजार मिटरभन्दा माथि पुग्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई सो व्यवस्था गरिने भएको हो । 

तीन हजार मिटरभन्दा माथि रहेका केन्द्रमध्ये म्याग्दीमा एक, गोरखामा १५, मनाङमा १४, मुस्ताङमा २४ गरी जम्मा ५४ केन्द्र रहेको जानकारी दिनुहुदै प्रमुख ढकालले हिमाली क्षेत्रमा जाने मतपेटिका पठाउने कार्य सुरु भइसकेको र मनाङ सहितका सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको शाङ्ता गाउँ र मनाङको नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने बिषयमा हाल मौसम न्यानो हुँदै आएको र बाटो खुलाएर सम्बिन्धत मतदान केन्द्रमा नै मतदान गर्ने सहमती भएको जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी, प्रदेश पोखराले गण्डकी प्रदेशका ११ जिल्ला तथा निर्वाचन आयोगसँग समन्वय र सहकार्य गर्दै आगामी निर्वाचनको तयारीलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा कूल मतदाता संख्या १८ लाख ७० हजार ६५ रहेको छन् । जसमध्ये महिला ९ लाख ५५ हजार ५ सय १६ र पुरुष ९ लाख १४ हजार ५ सय ३५ रहेका छन् । 

प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल तथा २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवारसहित कुल २ सय ३४ जना उम्मेदवार रहेका छन् । जसमध्ये महिला २९ र पुरुष २ सय ५ जना छन् । सबैभन्दा बढी १८ दलले कास्कीमा उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम मनाङमा ३ दलले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनशक्ति व्यवस्थापन, कर्मचारी खटनपटन, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिमसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका कर्मचारी आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भई निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहेको उल्लेख गरिएको छ ।