• १५ फागुन २०८२, शुक्रबार

स्ट्रबेरी खेतीले बढायो एग्रो–टुरिजमको आकर्षण

blog

चितवनको समिचोकस्थित एग्रोभाइन प्रालिको स्ट्रबेरी खेती ।

नारायणगढ (चितवन), फागुन १५ गते । भरतपुर महानगरपालिका –५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ। विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैआएको यस फर्मले स्ट्रबेरी खेतीसँगै एग्रो–टुरिजम प्रवर्धनलाई प्राथमिकता दिँदैआएको छ ।

फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किनुभएको हो । अमेरिकामा उच्च शिक्षा हासिल गरी उहाँले एग्रो–टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गर्नुभएको छ । “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्” उहाँले भन्नुभयो।

स्ट्रबेरी खेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चारजना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन्। यस वर्षदेखि आधुनिक तरिकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुवाती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उहाँ बताउनुहुन्छ । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ। 

उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उहाँको भनाइ छ । आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

“स्ट्रबेरीले अहिले एग्रो–टुरिजमलाई राम्रोसँग प्रवर्धन गरेको छ” उहाँले भन्नुभयो । एग्रो–टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उहाँको अनुभव छ । विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दैआएका छन् । व्यावहारिक शिक्षामा यसले टेवा दिएको देवकोटाको भनाइ छ।

देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् । “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ” देवकोटाले भन्नुभयो, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।” उहाँले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताउनुभयो । रासस