प्रेम अधिकारी
इलाम, फागुन १५ गते । इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी महिला, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र नयाँ मतदातालाई लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको हो। समुदाय स्तरमा मतदाता शिक्षा प्रभावकारी बनाउन आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीले नमुना मतदान गरेका थिए।
निर्वाचनकै झल्को दिने गरी सबै प्रक्रिया पूरा गरेर कार्यक्रम सम्पन्न गरिएको गैरसरकारी संस्था महासङ्घ, इलामका अध्यक्ष भक्त थामीले जानकारी दिनुभयो। मतदान गर्दा गलत ठाउँमा स्वस्तिक छाप लगाउने, मसी लतपतिने, दुईवटा चिह्नमा छाप लाग्ने, कोष्ठबाहिर छाप पर्ने तथा मतदान अधिकृतको हस्ताक्षर भएरनभएको जाँच गर्ने जस्ता प्राविधिक विषयमा मतदातालाई जानकारी दिइएको थामीले बताउनुभयो।
उहाँका अनुसार गैरसरकारी संस्था महासङ्घ र महिला कानुन र विकास मञ्च, काठमाडौँले इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेका छन्। देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
नमुना मतदान कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले अनुभवी मतदाताबाट समेत मत बदर हुने गरेकाले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा निर्वाचन अधिकृतदेखि कर्मचारीसम्मको नमुना परिचालन गरिएको थियो भने पहिलो पटक मतदान गर्न लागेका युवायुवतीको उल्लेख्य सहभागिता थियो।
कार्यक्रम संयोजक एवं कानुन व्यवसायी विद्या सापकोटाले उपस्थित समुदायलाई मतदान प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। नमुना मतदानको अन्तर्राष्ट्रिय पर्यवेक्षकले समेत अनुगमन गरेका थिए।
सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, इलाम नगरपालिकाका केही वडा र माई नगरपालिकाका ७ वटा वडा इलाम निर्वाचन क्षेत्र नं. १ मा पर्दछन्। यस क्षेत्रमा विभिन्न दलका १३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने यहाँ एक लाख १२ हजार ३२० मतदाता रहेका छन्।