जनकपुरधाम, फागुन १५ गते । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिमलेन्द्र निधिले संविधान तथा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभएको छ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समावेशिता, सामाजिक न्याय र विधिको शासन सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
“संविधानमाथि विभिन्न कोणबाट चुनौती आइरहेका बेला यसको रक्षा र कार्यान्वयनका लागि कांग्रेसको जित आवश्यक छ,” उहाँले भन्नुभयो। लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणमा आफू प्रतिबद्ध रहेको समेत उहाँले स्पष्ट पार्नुभयो। विकास र सुशासनलाई सँगसँगै अघि बढाउँदै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता उहाँको छ ।
आसन्न निर्वाचनका सन्दर्भमा बोल्दै नेता निधिले आफ्नो जितको आधार विगतमा गरेका काम नै भएको दाबी गर्नुभयो। धनुषा र मधेशका जनताको हक–हित, विकास र लोकतान्त्रिक अधिकारका लागि आफूले निरन्तर काम गर्दै आएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “जनताले मेरो काम देख्नुभएको छ, त्यसैले मेरो जितको मुख्य आधार नै मेरो विगतको काम हो।”
उहाँले आफ्नो कार्यकालमा पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र धार्मिक–पर्यटन प्रवर्द्धनका लागि पहल गरेको उल्लेख गर्नुभयो। साथै, संविधानको रक्षा, सङ्घीयता कार्यान्वयन र समावेशी लोकतन्त्र सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
आसन्न निर्वाचनमा जनताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै नेता निधिले आफू सधैँ जनताकै बीचमा रहेर काम गर्ने बताउनुभयो।