बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन १५ गते । सिन्धुली जिल्लामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने निर्बाचन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरी शुक्रबारदेखि सबै कर्मचारीलाई नियुक्ति पत्र वितरण सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा उक्त निर्वाचन सम्पन्न गर्न कुल २७२ मतदान केन्द्रमा गरी एक हजार ६३२ कर्मचारी खटाइएको छ । एक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र सहयोगी कर्मचारी एक गरी छ जना खटाइएको छ । निर्वाचनमा खटाइएका कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचन सामग्री सहित फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगि सक्नु पर्ने मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनमा खटाएका कर्मचारीलाई फागुन १६ गतेसम्म नियुक्ति पत्र दिन्छौं । त्यसपछि १७ गतेदेखि उनीहरु मतपेटिका, मतपत्र र निर्बाचन सामग्री बुझेर फागुन १८ गते बेलुकासम्म तोकिएको मतदान केन्द्रमा पुग्नु पर्ने हुन्छ ।’ सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको छ । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल १५१ मतदानस्थल र २७२ वटा मतदान केन्द्र रहेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ७७ वटा मतदानस्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने ७४ वटा मतदानस्थल र १३४ वटा मतदानकेन्द्र रहेको छ । यो बाहेक जिल्लामा अस्थायी दुई वटा मतदान केन्द्र रहेको छ । कारागार कार्यालयमा एक र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि जिल्ला हुलाक कार्यालयमा अर्को अस्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा उक्त प्रतिनिधिसभा सदस्य निर्बाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ जना रहेका छन् । निर्बाचनलाई भयरहित बताबरणमा सम्पन्न गर्न जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभरिका मतदान स्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन भागमा बर्गिकरण गरी सोही अनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाई सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तीन हजार पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पनि उहाँले बताउनुभयो । दुई वटै निर्बाचन क्षेत्रमा गरी छ स्वतन्त्र सहित कुल २८ जना उमेद्वार चुनाबी प्रतिस्पर्धाका लागि मैदानमा रहेका छन् ।
जिल्लामा उक्त निर्बाचन सम्पन्न गर्न एकिकृत निर्वाचन सुरक्षा योजना बनाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित सुरक्षाकर्मी परिचालन गरिएको छ । ती सुरक्षाकर्मीलाई फिल्डमा खटाएसँगै जिल्लामा सुरक्षा गतिविधि तीब्र बनाईएको प्रजिअ श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा संवेदनशील मतदान केन्द्रहरुको अवस्था, पहुँच मार्ग, सञ्चार व्यवस्था, भीड व्यवस्थापन तथा आकस्मिक सुरक्षाको तयारी बारे स्थलगत मूल्याङ्कन गरिरहेको छ । त्यस्तै मतदान केन्द्र आसपासको सुरक्षा घेरा, प्रहरी परिचालन योजना र आपतकालिन उद्धार तयारीबारे समेत आवश्यक निर्देशन दिइएको छ ।