• १५ फागुन २०८२, शुक्रबार

कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी

blog

माछापुच्छ्रे मावि भुजुङखोलाको निरीक्षण गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोली । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन १५ गते । कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जिल्लामा अन्य स्थानको तुलनामा आचारसंहिता उल्लङ्घनका घटनामा लिखित उजुरी नपरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले सकारात्मक सहयोग रहेको बताउनुभयो । यद्यपि सडक क्षेत्रमा माइक चर्को बजाउने, पार्टीका गीत तथा जिङ्गलमार्फत ध्वनि प्रदूषण गर्ने विषयमा मौखिक उजुरी भने प्राप्त भइरहेको उहाँले बताउनुभयो । त्यस्ता उजुरीमाथि अनुगमन र आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका प्रमुख नारायण ढकालले निर्वाचन आयोगको परिपत्रअनुसार ४६ जनाले निर्वाचन प्रयोजनका लागि बैँक खाता खोलेको र तीन जनाले अझै खाता नखोलेको जानकारी दिनुभयो । उहाँले तोकिएको समयभित्र सबै उम्मेदवारलाई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले आचारसंहिताको केकति पालना भएको छ र उम्मेदवारले केकसरी प्रचार गरिरहेका छन् भनेर सुरक्षा निकाय सहितको टोलीले शहरी क्षेत्रमा मात्र नभई कास्कीको ग्रामीण क्षेत्रमा समेत अनुगमनलाई तिव्रता दिइरहेको बताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत शिव लम्सालले सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत गतिविधि गर्ने एक जनामाथि कारबाही गरिएको जानकारी दिनुभयो । साथै सामाजिक सञ्जालमा आएका ५० भन्दा बढी गतिविधिबारे सम्बन्धित पक्षलाई सम्पर्क गर्दा स्वस्फूर्त रूपमा सामग्री हटाइएको उहाँको भनाइ छ ।

त्यस्तै चुनावी घरदैलो निर्वाचन आयोगले तोकेको २५ जना भन्दा बढी सहभागी भएको, मासु भात खुवाएको, टोपी, ब्यानर, टिसर्ट र साडी लगाएर प्रचारप्रसार गरिएको विषयमा मौखिक जानकारी आएपछि सचेत गराएपछि यस्ता गतिविधिमा कमी आएको र अनुगमन कार्यलाई भने निरन्तरता दिइएको स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोग काठमाडौबाट निर्वाचन अनुगमन गर्न आउनुभएका कानुन अधिकृत अरुण अधिकारीले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन सम्बन्धित निकायले निगरानी तथा समन्वयलाई थप प्रभावकारी बनाएको र दलहरु पनि आचारसंहिताको बारेमा सचेत रहेको बताउनुभयो ।