फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १५ गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि मदिरामा रोक लगाइएको जनाएको छ । स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८; निर्वाचन आयोगको विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
“आज (शुक्रबार) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कास्की जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसार–पसार तथा सेवन कार्यमा निषेध गरिएको छ” उहाँले भन्नुभयो ।
प्रशासनले निर्वाचनको अवधिमा सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा प्रतिनिधि एवं आम सर्वसाधारणलाई अनुरोध गरेको छ । सूचना कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी हुने र सूचनाको अवज्ञा गरे प्रचलित कानुन बमोजिम हुने कारवाही हुने लम्सालले उल्लेख गर्नुभयो ।
फागुन २१ गते हुने निर्वाचनमा कास्कीमा तीन लाख आठ हजार पाँचसय ७२ मतदाता कायम भएका छन् । जिल्लामा एकसय ५३ मतदान स्थल र तीन सय ६३ मतदान केन्द्र छन् ।