यदुप्रसाद भट्ट
मनाङ, फागुन १५ गते । मनाङको नासोँ गाउँपालिका–५, थोँचेमा रहेको प्रकाशज्योति उमाविमा वातावरणीय अध्ययन तथा वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँ र लौजान विश्वविद्यालय स्विजरल्यान्डको संयुक्त सहकार्यमा चार लाख रुपियाँ लागतमा आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको हो । केन्द्रले वायुको तापक्रम तथा सापेक्षिक आद्रता र वर्षामापक यन्त्र जडान गर्ने कार्य सम्पन्न भएको जनाएको छ । त्रिवि मानवशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा. नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा. विनोद दवाडीको विशेष पहलमा जलवायु मापन केन्द्र स्थापना गरिएको प्रकाश ज्योति उमाविका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो ।
स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायहरूको सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रमार्फत अब क्षेत्रीय स्तरमै मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरिने र शिक्षण सिकाइमा यसले सहजता ल्याउने अपेक्षा गरिएको प्रधानाध्यापक पन्थीले बताउनुभयो ।
नवनिर्मित केन्द्रमा तापक्रम, वर्षा, हावाको गति तथा दिशा, आद्रतालगायत विभिन्न मौसमीय सूचकहरू मापन गर्ने उपकरण जडान गरिएको छ । यहाँबाट सङ्कलित तथ्याङ्कले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण तथा जलवायु परिवर्तनको प्रभाव विश्लेषणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
केन्द्रको स्थापनापछि प्राकृतिक विपद् जस्तै बाढी, पहिरो तथा खडेरीको जोखिम मूल्याङ्कनमा सहजता आउने छ । समयमै उपलब्ध हुने वैज्ञानिक तथ्याङ्कले विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यसैगरी, स्थानीय विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले पनि केन्द्र उपयोगी हुने जनाइएको छ । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा मौसम मापन प्रक्रिया, तथ्याङ्क अभिलेखीकरण तथा विश्लेषण विधिबारे अध्ययन गर्न सक्ने छन्, जसले वैज्ञानिक अनुसन्धानतर्फ अभिरुचि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
स्थानीयले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार तथा दिगो विकासका लागि आवश्यक नीति निर्माणमा यस केन्द्रबाट प्राप्त तथ्याङ्क प्रभावकारी आधार बन्ने विश्वास गरिएको नासोँ–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो ।