अमृत बास्कुने
म्याग्दी, फागुन १५ गते । प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण सुरु भएको छ । ८२ स्थानमा १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुङ्गो लगाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि नियुक्तीपत्र वितरण सुरु गरेको हो ।
शुक्रबार बेनीमा आयोजना गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन र आमसञ्चार विषयक अन्तर्क्रियामा मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले सबै तयारी पूरा भएको बताउनुभयो। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले शान्तिसुरक्षाको अवस्था र तयारीका बारेमा जानकारी गराएका थिए ।
सुरक्षाकर्मी तथा कर्मचारी खटनपटन सँगै तयारी पूरा भएको जिल्ला सुरक्षा समिति संयोजक प्रजिअ आचार्यको भनाइ छ । कर्मचारी तथा निर्वाचन प्रहरी खटाइएसँगै तयारी पुरा भएको हो । जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिने निर्वाचन प्रहरीको केन्द्र तय गरेर मतदान स्थल तर्फ खटाइ सकेको छ भने मतदान केन्द्रमा खटिने कर्मचारीले पनि नियुक्तीपत्र बुझेसँगै अब मतदान, मतपेटीका ढुवानी र गणना बाँकी रहेको हो ।
मङ्गलबार निर्वाचन प्रहरी खट्ने स्थलको टुङ्गो भएर सुचना प्रकाशन भएसँगै बुधबार बिहानै देखि आफ्नो कार्यस्थल तर्फ निर्वाचन प्रहरीहरू खटेका थिए । कर्मचारीहरू भने शुक्रबार र शनिबार नियुक्तीपत्र लिने र दुरी अनुसार १७ र १८ गते मतदान केन्द्र तर्फ लाग्ने छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत जगत भण्डारीका अनुसार मतदान स्थलमा खट्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तोकिएको छ । फागुन १२ गते मङ्गलबार निर्वाचनमा खट्ने सबैको नामावली प्रकाशन गरीएको र १५ गते र १६ गते नियुक्तिपत्र दिएर मतदान स्थलमा खटाइने कार्ययोजना अनुसार आज नियुक्तीपत्र वितरण सुरु भएको हो ।
जिल्लाका सबै मतदान स्थलको अनुगमन गर्नुका साथै सुरक्षा व्यवस्था बारेमा समेत चुस्तता दिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो । निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा पनि ल्याएको हुनाले निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
मतपेटिका ढुवानी कार्ययोजना तयार भएको समेत प्रजिअ आचार्यको भनाइ छ । अहिले निर्वाचनको तयारी पूरा भएको छ, अब मतदान र मतगणना मात्रै बाँकी छ । कर्मचारी खटनपटन, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिए पछि निर्वाचनको सबै काम सकियो । अब मतदान र मतपेटिका ढुवानी अनि गणना मात्रै बाँकी रह्यो अरु सबै सकियो उहाँले सुनाउनुभयो ।
आचारसंहिता अनुगमन अधिकृत कुलप्रसाद आचार्यले जिल्लामा लिखित र मौखिक गरी ९ वटा उजुरी आएको बताउनुभयो । उहाँका अनुसार हालसम्म आएका उजुरी मध्ये एउटालाई लिखित जवाफ मागिएको र अन्यलाई मौखिक रूपमा सचेत गराइएको छ । हालसम्म कुनै पनि उजुरी उपर जरिवाना तथा अन्य कारबाही भने गरिएको छैन । सामाजिक सञ्जालमा गरेका पोस्टलाई हटाउन लगाइएको उहाँको भनाइ छ ।
प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदान स्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूका लागि कारागारमा एउटा र कर्मचारीहरूका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई समान्य भनेर वर्गीकरण गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४४ हजार ६४ महिला, ४२ हजार तीन सय ३२ पुरुष एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।