• २३ माघ २०८२, शुक्रबार

सङ्घीय संसद् भवनको निर्माण चैत पहिलो साताभित्र सक्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

blog

संघीय संसद भवनको निर्माण कार्यको विषयमा जानकारी लिनुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल।

काठमाडौँ, माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो साताभित्र सङ्घीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।

शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा संलग्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो। नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक सञ्चालन गर्ने गरी कुनै पनि अवरोधबिना काम सम्पन्न गर्न अध्यक्ष दाहालले निर्देशन दिनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो।

सहरी विकास मन्त्रालयका सचिव सिग्देलले संसद् भवनको निर्माण कार्य करिब ९२ प्रतिशत सकिएको र बाँकी काम पूरा गरी चैतको पहिलो साताभित्र निर्माण सम्पन्न हुने ‘ब्रिफिङ’ गर्नुभएको छ। अध्यक्ष दाहालले भने तोकिएकै समयमा कार्य सम्पन्न गर्न नियमित अनुगमन गर्न संसद् सचिवालयलाई सचेतसमेत गराउनुभयो। उहाँले कार्यप्रगतिको विवरण प्रत्येक हप्ता सङ्घीय संसद् सचिवालयलाई बुझाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको प्रवक्ता गिरीले जानकारी दिनुभयो।

प्रवक्ता गिरीले भन्नुभयो, “बाँकी रहेका कामहरूलाई अत्यन्त शीघ्रताका साथ कुनै पनि कारणबाट अवरुद्ध नहुने गरी समयमै सम्पन्न गर्न अध्यक्षज्यूले निर्देशन दिनुभएको छ। साथै, प्राविधिक पक्षहरूको जडान गर्दै सचिवालयका प्राविधिक जनशक्तिले पनि स्थलगत अवलोकन गर्ने, बुझ्ने र क्षमता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। अबदेखि प्रत्येक हप्ता कार्यप्रगतिको जानकारी सचिवालयलाई गराउने र सचिवालयले पनि नियमित रूपमा स्थलगत अवलोकन गर्ने समझदारी भएको छ।”

फागुन २१ को निर्वाचनपछि नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु गर्ने संसद् सचिवालयको तयारी छ। सोहीअनुसार दुवै सदनका बैठक कक्षको निर्माणमा विशेष जोड दिएर अघि बढ्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय र निर्माण व्यवसायीलाई सचेत गराउनुभएको हो।

चैतको पहिलो साता भवन निर्माण सम्पन्न हुने र सोही स्थानबाट संसद् बैठक सुरु हुनेमा सचिवालयले विश्वास व्यक्त गरेको छ।