बाटो उकालो उकालो छ, जङ्गलभित्र । खुस नसिब अटो दौडाइरहेका छन् । मेरो मन र मस्तिष्कमा बलभद्र कुँवर र बहादुर सहयोद्धाहरूले अङ्ग्रेज सेनासँग लडिरहेको युद्धको प्रत्यक्ष प्रसारण भइरहे झैँ थियो । तलबाट अङ्ग्रेजहरूले हानेको बम र गोलीले नेपाली सिपाहीलाई छुँदैनथे । उनीहरूले हानेका ढुङ्गा, तीर, भालाले सिधै अङ्ग्रेज सेनाको टाउका र छातीमा लाग्थ्यो । उनीहरू पुक्लुक्कै ढल्थे । ओहो ! केही नेपाली वीरवीशङ्गना हताहत हुने गरी किल्लाभित्रै खस्यो बम ।
हतियार बोकेर डिलमा आइपुगेका अङ्ग्रेज सेनालाई चमचम चम्किरहेको खुकुरीले छप्काउँदै थिइन् एक जना वीराङ्गना । छिनेका शत्रुका गर्धनबाट छुटेका रगतका सिर्काले पिठिउँमा बोकेको बालक निथ्रुक्कै भिजेको थियो । जय गोर्खाली, जय नेपाली भन्दै चिच्याउँदै नेपाली जाइलागेका थिए ढुङ्गामुढा, तीर, भाला, खुकुरी, तरबार प्रहार गर्दै । बैरीहरू कति ढले त्यहीँ त कति भागे दौडँदै । खुकुरी चम्किरहेको थियो शत्रुको शिरमाथि । एक्कासि ढलिन एक जना वीरङ्गना–आमा ! आमा ! भन्दै । पिठिउँमा मजेत्रोले बाँधेको बालक उछिट्टिएर पछारियो भुइँमा । तुरुन्तै उठ्यो ऊ र टुकुरटुकुर हिँड्दै आएर आमालाई हेर्दै उठायो दुई हातले आमाका हातबाट धर्तीमा झरेको खुकुरी ।
खुस नसिबले घच्याक्क अटो रोक्दा मेरो मन र मस्तिष्कमा छाइरहेको सन् १८१४ को नालापानी युद्धको कल्पना वृत्तचित्र ठप्प रोकियो । आँखाअगाडि त ‘बलभद्र खलङ्गा युद्ध स्मारक (१८१४) नालापानी देहरादुन, उत्तराखण्ड’ लेखिएको युद्ध स्तम्भ स्थलको प्रवेशद्वारमा पो उभिरहेको रहेछ । २०८१ साल वैशाख ४ गते मङ्गलबार देहरादुन बसपार्क नजिकैबाट खुस नसिबको अटोमा चढेको थिएँ, म । घडीमा १० बज्न लागेको थियो । खुस नसिबले अटो दौडाउँदै रिभर बाइपास चिनाए । इसी रोडमा अटो दगुरिरहेको बखत नसिबले त्यो ठाउँमा देहेरादुनका राम्रा स्कुल, कलेज भएको कुरा सुनाए । सायद नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका हुने खाने परिवारका छोराछोरीले पढ्ने यतै होलान् ।
सहस्रधारा रोड, नालापानी चोक हुँदै अघि बढ्दै थियौँ हामी । तपोवनस्थित बलभद्र खलङ्गाद्वारबाट उकालो लागेपछि जङ्गलैजङ्गलको बाटो रहेछ । तिब्बती कोलोनी भनेर तिब्बती बसेका रहेछन् । वैदिक साधना आश्रम आयो जङ्गलमै तर आएन नालापानी किल्ला । अगाडि बढ्दै जाँदा दाहिनेतिर एउटा खुला मन्दिर जस्तो पूजा गर्ने ठाउँ देखियो । अधबैँसे एकजोडी पूजा गर्दै थिए । उनीहरूका अनुसार बलभद्रले शक्तिका लागि आराधना गर्ने गरेको देवीस्थान रहेछ, त्यो । देवीस्थानसँगै जस्तो नजिकै रहेछ नालापानी युद्ध स्मारक । सालका रुखहरूले घेरिएको एकान्त स्थल । अटोमा करिब १६ किलोमिटरको यात्रा पूरा भएछ ।
अटोबाट उत्रिएपछि मलाई धर्ती छाम्न मन लाग्यो । हत्केलाले छामे ती वीरवीराङ्गनाको धुकधुकी नालापानी युद्धस्थलमा । जहाँ अङ्ग्रेजसँग लड्दा सिपाहीले मात्र हैन महिला र बालबालिकाले समेत प्राणको आहुति दिएका थिए । शरीरभरिका रौँ ठाडाठाडा भए झैँ लाग्यो । आँखाले खोजे बहादुरीका निसानीहरू । प्रवेशद्वारबाट भित्र छिर्दा केही देखिएनन् । एउटा अग्लो स्तम्भ उभिएको रहेछ शिखरमा दुई खुकुरी चम्काएर । नजिकै बाटामा कतैकतै ढुङ्गा देखिन्थे भत्किएका पर्खालका जस्तै । सायद तिनीहरू नै थिए होलान् किल्लाका निसानी । डिलबाट तल देहरादुन सहर देखिँदो रहेछ रुखहरूले अलिअलि छेलिए पनि । पानीको मुहान हेरेँ आँखा तन्काएर परपरसम्म, कतै पनि देखिएन । खोलाबाट नजिकै कतै पानी जम्मा गर्ने खोबिल्टो बनाइएको थियो होला । किल्लाका भग्नावशेष खोजे आँखाले तर केही पनि भेटेनन् ।
खुस नसिब कहिले तस्बिर खिचिरहेका छन् त कहिले पढ्दै छन् भित्तामा राखिएका जानकारी दिने अक्षर ।
म आत्तिएकै जस्तो भएको छु, खोजेका चिजहरू नपाएर । मैले त खोजिरहेको थिएँ युद्धले भत्काएकै भए पनि वीर पुर्खाले रगत बगाएको किल्लाको भग्नावशेष, वीरवीराङ्गना ढलेको प्रत्यक्ष धर्ती, बलभद्र र नाम नलेखिएका तमाम वीर पुर्खाहरू अङ्ग्रेज शत्रुलाई लल्कार्दै, नाङ्गा खुकुरी चम्काउँदै पानी पिउन खोल्सातिर लागेको बाटो । मैले त खोजिरहेको थिएँ सन्तानलाई पिठिउँमा मजेत्रोले बाँधेर बोकेकी वीराङ्गनाले वैरीका शिर छप्काउँदै ढाल्दै गरेको अनुभूति हुने सङ्केत । मैले त खोजिरहेको थिएँ कयौँ अङ्ग्रेजी सेनापति र सयौँ सेनाले प्राण त्यागेको र बाँचेका भागेको दृश्य अनुभूति हुने वातावरण ।
अग्लो युद्ध स्तम्भको फेदमा श्रद्धाञ्जली अर्पण गरेर ती वीरवीराङ्गनाको सम्झना गर्दै बसेँ सिँढीमा चुपचाप आँखा चिम्लिएर । इतिहासमा लेखिएको छ, “अङ्ग्रेजहरूलाई पटक पटक नालापानी खलङ्गामा नेपाली वीरवीराङ्गनाले परास्त गरेँ ।” इतिहासमा पढेको नालापानी युद्धको सन्दर्भ स्मरणमा आइरहेको छ । सामान्य तोप, भरुवा बन्दुक, खुकुरी, तरबार, गुलेली र ढुङ्गाका भरमा अत्याधुनिक तालिमप्राप्त पाँच हजारभन्दा बढी अङ्ग्रेज युद्ध सेनालाई नेपाली सेना र तिनका श्रीमती, ससाना छोराछोरी र केही कुमाउनी, गडवाली गाउँले गरेर लगभग छ सय जनाले पटक पटक युद्ध लडेरै लखेटेका थिए । सन् १८१४ अक्टोबर २४ का दिनदेखि अङ्ग्रेजी सेना नायक जनरल रोबर्ट रोलो जिलेस्पीको नेतृत्व र निर्देशनमा नालापानी खलङ्गामा आक्रमण सुरु भएको थियो । त्यो आक्रमणमा नेपाली वीरवीराङ्गनाले युद्ध कुशलताले भरिपूर्ण अङ्ग्रेज सेनालाई लखेटेका मात्र थिएनन्, अत्यन्तै बहादुरीपूर्वक लडेर अङ्ग्रेज सेनाका लेफ्टिनेन्ट एलिससहित धेरै सेना अधिकृत र सयौँ सिपाहीलाई मृत्युको बाटो देखाएका थिए । एक, दुई, तीन भन्दै अङ्ग्रेजले मरेका आफ्ना सेनापति र सेनाको सङ्ख्या गन्दा ७५० भन्दा बढी पुगेको थियो । मरणासन्न ती दर्जन जति सेना अधिकारी र एक हजार पाँच सय जति घाइते सैनिक रुँदै, कराउँदै भागेका थिए । शक्ति सञ्चय गरेर फेरि आक्रमण गरे अङ्ग्रेजले ३१ अक्टोबरमा । हिमाल जस्तो अग्लो युद्ध साहस र सागर जस्तो गहिरो माटोको मायाले सुसज्जित गोर्खाली के कम हुन्थे । उनीहरूले यस पटक अङ्ग्रेज सेनाको सर्वोच्च कमान्डर जिलेस्पीलगायत धेरै सेना अधिकृत र सिपाहीलाई मृत्युको पोखरीमा फालिदिए । नेपालीले हानेको तीर छाती छेडेर मुटुमा गाडिएपछि ढलेका थिए, जिलेस्पी । यसबेलासम्ममा अङ्ग्रेज सेनाका आठ जना सेना अधिकृत र लगभग एक हजार दुई सय सिपाहीले जीवन गुमाइसकेका थिए । आठ सय जति अङ्ग्रेज सेना त घाइते नै भएका थिए ।
त्यस समयमा नेपाली सेनाले आफ्ना श्रीमती र छोराछोरी पनि सँगै लैजाने चलन थियो । उनीहरूबाट किल्लाका विविध काममा सहयोग पुग्थ्यो । खलङ्गा किल्लामा पनि यस्तै अवस्था थियो । जिलेस्पीपछि अङ्ग्रेज सेनाको नेतृत्व कर्णेल मबिले समाले । उनले पनि पटक पटक आक्रमण गरे तर पराजय मात्र हात लाग्यो । जालझेल र षड्यन्त्रको बाटो लिनु पर्छ भन्ने निष्कर्षमा पुग्यो, अङ्ग्रेज सेना । उनीहरूले नेपाली सेनाले पानी ल्याउने गरेको खोल्साको मुहान बन्द गरिदिए, पानी लिन जाने बाटो भत्काइदिए, पानी जम्मा गरेर राख्ने गरेको सानो पोखरी पुरिदिए । यता नालापानी किल्लामा घैलामा जम्मा गरेर राखेको पानी सकिँदै गयो । रित्तिए सबै घैला । प्यासले छटपटिँदै वैरीसँग लड्नुपर्ने समय आयो ।
अङ्ग्रेज सेनाका अत्याधुनिक बमले भत्काउन थाल्यो किल्लाको पर्खाल । गोली लागेर ढल्न थाले वीर नेपाली । चिच्याहट, आर्तनाद फैलियो । उभिएकाको भन्दा ढलेकाको सङ्ख्या बढी देखिन थाल्यो । किल्लाभित्रै मरेर सकिनु बहादुरको चरित्र होइन भन्दै जति सद्दे छौँ निस्किएर लड्दै र लल्कार्दै शत्रुलाई सुरक्षित ठाउँतिर जाऊ भन्ने उर्दी जारी गरे बलभद्रले । उनले माफी मागे मृत्युको मुखमा पुगिसकेका वीर नेपाली सहयोद्धासँग । घाइतेका हात समाएर, “वैरीलाई जिती तिमीहरूलाई उठाउन अवश्य आउने छौँ,” भन्दै अठोट गरे र निस्किए किल्लाबाट ७० जना जति नेपाली बहादुर । वीरहरूले हार्न जान्दैनन्, उनीहरू हार्न मान्दैनन् । तिमीहरूले जित्न सकेनौ । हामीले नहारे पनि छोडिदिएका छौँ वैरीलाई यो किल्ला । पछि फेरि लडौँला र फिर्ता गरौँला । नेपाली वीरहरू यसो भन्दै बाटो लागे नालापानी युद्धको कालजयी, अजम्बरी इतिहासको धरोहर उभ्याएर । निन्द्राबाट ब्युझिए झैँ भयो मलाई । शरीरभरि पसिना आएको रहेछ । रुमाल झिकेर पसिना पुछेँ ।
एक फन्को लगाएँ युद्ध स्तम्भलाई र चढेँ खुस नसिबको अटोमा । साढे १२ बजिसकेको थियो । अब सहस्रधारास्थित नालापानी चोकमा पुग्नु थियो । अङ्ग्रेजले नेपाली बहादुर बलभद्र कुँवरका नाममा स्थापना गरेको सम्मान स्तम्भ हेर्नलाई ।
युद्धपछि अङ्ग्रेजले नेपाली वीरताको कदर गर्दै
‘हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीको स्मृतिमा सम्मानोपहार’ भन्ने शिलालेख स्थापित गरेका थिए रे । नालापानी किल्लादेखि करिब १० किलोमिटर पश्चिमको मैदानी भागमा सहस्रधारा सडक किनारमा रहेछ यो ऐतिहासिक ठाउँ । उनीहरूले वीर शत्रु बलभद्र र उनीहरूका युद्ध कमान्डर जिलेस्पीका सम्मानमा दुई स्तम्भ खडा गरेका रहेछन् । त्यहाँ बलभद्र कुँवरको नाम लेखेको स्मारकमा बलभद्रको थर कुँवर नभएर बलभद्र थापा लेखिएको रहेछ । त्यो लिखत चाहिँ आधिकारिक वार्ता गरी सुधार्नुपर्ने देखिन्छ । बहादुर पुर्खाप्रति निहुरिएर सम्मान प्रकट गरेँ फेरि एकपल्ट । आशा गरेँ स्मारकमा बलभद्र थापाको सट्टा बलभद्र कुँवर लेखिने छ । अर्को पटक आउँदा अवश्य पढ्न पाउने छु, ‘वीर बलभद्र कुँवर ।’