• २१ साउन २०८२, बुधबार

चुरे भेगमा यातायात ठप्प

blog

नारायणखोलामा गाउँतर्फ जाँदै गर्दा खोलामा फसेका ट्याक्टर र टिप्पर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, साउन २० गते ।  सर्लाहीको चुरे भेगमा यातायातका साधन चल्न छाडेपछि स्थानीय समस्यामा परेका छन् । चुरे भेगका विकट क्षेत्रमा बाढी आएर खोलाबाट गाडी चल्न छाडेपछि जनजीवन कष्टकर बन्न थालेको हो । 

सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोला भएर बस चल्न छाडेको एक महिनाभन्दा बढी भइसकेको छ । लखन्देही र डाइनीखोलामा बाढी नआएको समयमा खोलाको बगरबाट मुस्किलले ट्याक्टर सञ्चालन हुने गरेका छन् । स्थानीयले जोखिमपूर्ण हिसाबले ट्याक्टरमै चढेर बजारसम्म आउजाउ गर्ने गरेका छन् । 

केही दिनदेखि पानी परिरहेकाले ट्याक्टरसमेत चल्न नसकेको नारायणखोलाका शिक्षक उत्तरकुमार गुर्मछान (राजन) ले जानकारी दिनुभयो । कुनै पनि सवारीसाधन सञ्चालन नहुँदा सिन्धुलीको मरिण गाउँपालिकासँग सीमा जोडिएको नारायणखोलाबाट बिरामी र गर्भवतीलाई दुई÷तीन घण्टा झोलुङ्गोमा बोकेर गाडी चल्ने ठाउँ पत्थरकोटसम्म ल्याउनुपर्ने बाध्यता सुरु भएको शिक्षक गुर्मछानले बताउनुभयो । 

चुरे भेगमा वर्षायामभर यस्तै समस्या दोहोरिने गरेको उहाँको गुनासो छ । बस व्यवसायीसमेत रहनुभएका लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले पानी पर्न रोकिए दसैँको मुखतिर मात्रै गाडी सञ्चालन गर्न सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । 

भौगोलिक हिसाबले विकट र चुरे पाखामा मात्रै बस्ती रहेको नारायणखोलामा सडक ट्रयाक खोलिए पनि सफल हुन सकेको छैन । एक सातादेखि बेला बेलामा वर्षा भइरहँदा सर्लाहीको चुरे भेगका अन्य क्षेत्रमा पनि यातायात आवागमन ठप्प भएको छ । 

पानी नपरुन्जेल मोटरसाइकल सञ्चालन भइरहेका थिए । अहिले खोलामा बाढी आइरहने गरेकाले पैदल हिँडेर गाडी चल्ने ठाउँसम्म आउनसमेत समस्या परेको स्थानीयले गुनासो गरेका छन् । बाढी आउन थालेपछि कालिन्जोर, फूलजोर र बाँकेखोला भएर लालबन्दी नगरपालिकाकै वडा नं. १२ को शिर कालिन्जोर, भित्री खोला तथा ईश्वरपुर नगरपालिकाको पिपलदमार क्षेत्रमा सञ्चालन हुने बस, बोलेरो र ट्याक्टर पनि ठप्प भएका छन् । ईश्वरपुर नगरपालिका–१२, घारीबथानका वडाध्यक्ष देवीबहादुर खत्री (शिव) ले माथि चुरे क्षेत्रका स्थानीयले अहिले मोटरसाइकल तथा अन्य सवारीसाधन तल फेदीमै राखेर हिँडेर जाने गरेका बताउनुभयो ।