• ७ जेठ २०८१, सोमबार

खोलामा अवैध उत्खनन बढ्दो

blog

लखन्देही खोलामा बालुवा उत्खनन गर्दा प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार ८ गते । प्रतिबन्ध विपरीत सर्लाहीको लखन्देही खोलामा अवैध उत्खनन बढेको छ । असारदेखि भदौसम्म तीन महिना नदीजन्य पदार्थको उत्खनन गर्न नपाइनेगरी  प्रतिबन्ध लगाइएको थियो । तर लखन्देही खोलामा खुलेयाम रुपमा उत्खनन भइरहेको स्थानीयको भनाइ छ । 

ठेक्का नलागेका कारण लालबन्दी नगरपालिकाले गत वैशाख ६ गतेदेखि लखन्देही खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकाल्न रोक लगाएको थियो । नगरपालिकाले लगाएको प्रतिबन्ध र बर्खाको तीन महिना नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने सरकारी नियमविपरीत खोला दोहन भइरहेको छ । 

लालबन्दी प्रहरीले तीन साताको अवधिमा लखन्देही खोलामा अवैध उत्खनन गरिरहेका १४ वटा सवारी साधन नियन्त्रणमा लिएर कारवाहीका लागि नगरपालिका कार्यालयमा बुझाएको बताएको छ । खोला उत्खनन गरेर गिट्टी बालुवाको तस्करी गर्ने एउटा जेसिबी र १३ वटा ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिका कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो । 

प्रहरीले अवैध उत्खननको सूचनाको आधारमा र गस्ती गर्ने क्रममा भेटिएका सवारीलाई नियन्त्रणमा लिइरहेको दावी गरेको छ । “मङ्गलबार लखन्देही खोलामा बालुवा लोड भएका छ वटा ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिका कार्यालयमा बुझाएका छौँ, यसअघि जेठ २२ गते पनि एउटा जेसिबी र सात वटा ट्याक्टर पक्रेर बुझाएका थियौँ,” लालबन्दी प्रहरीका प्रमुख कार्कीले भन्नुभयो, “प्रहरीको जनशक्ति र समयले भ्याएसम्म निगरानी गरिरहेका छौँ ।”

नगरपालिकाको कार्यालयले नदीजन्य पदार्थको उत्खननमा पूर्णरुपमा बन्देज लगाइएको जनाएको छ । अवैध उत्खनन गर्दा प्रहरीले फेला पारेर बुझाउने सवारीलाई कारवाहीस्वरुप जरिवाना तिराएर छाड्ने गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले बताउनुभाये । 

नगरपालिकाले अवैध ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने ट्याक्टरलाई दुई हजार, टिपरलाई पाँच हजार र जेसिबीलाई १० हजार रुपियाँ जरिवाना तिराउँदैआएको छ । “अघिल्लो पटकका ठेकेदारसँग भएको सम्झौता अवधि सकिएपछि लखन्देही खोलामा गत वैशाख ६ गतेदेखि उत्खननमा पूर्णरुपमा रोक लगाइसकेका छौँ, अब नयाँ ठेक्का नहुँदासम्म कसैले पनि उत्खनन गर्न पाउँदैन”, प्रमुख प्रशासकीय अधिकृत तिमल्सिनाले भन्नुभयो । 

सर्लाहीमा लखन्देही, बागमतीलगायत अन्य खोलामा पनि अवैध उत्खनन भइरहेको स्थानीयले बताएका छन् । स्थानीय तहले बेवास्ता गर्दा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको गुनासो स्थानीयको छ ।