• १ जेठ २०८३, शुक्रबार

जसपा नेपालद्वारा ध्यानाकर्षण

blog

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै जसपा नेपाल रौतहटका नेता,कार्यकर्ताहरु ।

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), साउन २० गते । जनता समाजवादी पार्टी (जसपा) रौतहटले आइतबार प्रधानमन्त्री तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षणपत्र बुझाएको छ । 

जसपा नेपाल रौतहटका अध्यक्ष राजीवरञ्जन यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत उहाँहरूलाई सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको अविलम्ब व्यवस्था मिलाउनेलगायतका माग राखेर ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले माग सम्बोधनका लागि तत्काल दुवै निकायमा पत्र पठाइदिने बताउनुभयो ।

सुक्खाग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुट, किसानलाई न्यायोचित ढङ्गले मलखादको प्रबन्ध मिलाउन, कृषि ज्ञान केन्द्रबाट स्यालो ट्युबेल जडानका लागि जारी सूचनामा उल्लेख गरिएको दुई बिघा जग्गाको लालपुर्जासम्बन्धी व्यवस्था हटाउन, सतही सिँचाइको सुविधा नभएको खेतमा सतही सिँचाइको सुविधा मिलाउन, आयोजना सम्पन्न भएर पनि खानेपानीका लागि सञ्चालन हुन नसकेका ओभरहेड खानेपानी आयोजना अविलम्ब सुचारु गर्न तथा सुक्खाग्रस्त ठाउँमा खानेपानीको तत्काल प्रबन्ध मिलाउनलगायतका ११ बुँदे माग राखेर सङ्घीय सरकार तथा प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको जसपा नेपाल रौतहटका अध्यक्ष यादवले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझाएपछि पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै मधेश प्रदेश सरकारका पूर्वभूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि किसान तथा आमजनतालाई राहत हुने कुनै योजना नल्याएको बताउनुभयो । “किसानले सिँचाइको अभावमा धान रोप्न पाएका छैनन् । आमजनताले पानी खान पाएको छैनन् । यस्तो अवस्थामा तिनै तहका सरकार टुलुटुलु हेरेर बसेका छन्,” उहाँले आरोप लगाउनुभयो ।