• २० साउन २०८२, मङ्गलबार

नाइमा मोबिलिटी एक्स्पो भोलिदेखि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २० गते । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो–२०२५ गर्ने भएको छ । दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० मोडेलका सवारी रहने सो प्रदर्शनी खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताउनुभयो । 

एक्स्पोलाई नेपालको अटोमोबाइलको बृहत् प्रदर्शनीका साथै नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने उपयुक्त थलोसमेत बनाएको उहाँले बताउनुभयो । एक्स्पोमा विभिन्न विक्रेता कम्पनीले ३५ नयाँ मोडलका सवारीसाधन पनि सार्वजनिक गर्ने तयारी गरेका छन् । 

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार साउन २१ देखि २५ गतेसम्म हुने प्रदर्शनीका पाँचै दिन दिउँसो सवारी तथा यातायातका विभिन्न विषयवस्तुमा छलफल पनि गरिने छ । यातायात क्षेत्रको वर्तमान अवस्था र भविष्य, जनशक्ति विकास, नीतिगत अवस्था, यातायात व्यवस्थापनलगायतका विषयगत सत्रमा स्वदेशी तथा विदेशी विज्ञसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । 

प्रदर्शनीलाई व्यवस्थित बनाउन फराकिला र आकर्षक स्टल, पर्याप्त पार्किङ, सहज आवागमन, खानपिनका स्टललाई व्यवस्थित बनाइएको उहाँले बताउनुभयो । एक्स्पोमा बिक्री भएका टिकटको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिप प्रदान गरिने नाइमाले जनाएको छ