• १९ साउन २०८२, सोमबार

निर्देशकविहीन प्रदेश अस्पताल

blog

सुर्खेत समाचारदाता

सुर्खेत, साउन १९ गते । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल फेरि निर्देशकविहीन भएको छ । प्रदेश अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भएर गएपछि प्रदेश अस्पताल निर्देशकविहीन भएको हो । डा. ढकाल गत असार २४ गतेसम्म अस्पतालमा निर्देशकका रूपमा हाजिर हुनुभएको थियो । साउन १ गते उहाँ स्वास्थ्य मन्त्रालय जानुभएको छ । 

डा. ढकाल बढुवासँगै सरुवा भएर गएपछि अस्पतालका सिनियर डा. गणेश थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले निमित्त निर्देशक डा. थापालाई आर्थिक अधिकारको जिम्मेवारी नभएको बताउनुभयो । निर्देशकविहीन भएको तीन साता पुग्न लाग्दासमेत नयाँ निर्देशकको नियुक्तिबारे कुनै जानकारी नआएको उहाँले बताउनुभयो । निर्देशकको नियुक्त सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारले गर्छ । 

डा. थापालाई आर्थिक अधिकारबाहेकको निमित्त निर्देशकको जिम्मेवारी दिएर कार्य सञ्चालन भए पनि कर्मचारीलाई तलब खुवाउने, करार कर्मचारीको म्याद थप गर्ने, अस्पतालमा अति आवश्यक पर्ने सामग्री खरिद गर्न कठिनाइ भएको छ । अस्पतालका सूचना अधिकारी बस्नेतले अहिले अस्पतालमा अति आवश्यक पर्ने सामग्री उधारोमा खरिद गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निमित्त निर्देशकलाई आर्थिक अधिकार नभएपछि अस्पताललाई अति आवश्यक पर्ने सामग्री पछि तिर्ने गरी उधारोमा खरिद गरिएको छ, अरू काम भने सञ्चालन भइरहेको छ ।” 

यसअघि पनि प्रदेश अस्पताल गत कात्तिक महिना निर्देशकविहीन भएको थियो । तत्कालीन निर्देशक डा. डम्बर खड्का उमेर हदका कारण सेवा निवृत्त भएपछि निर्देशक चयन प्रक्रिया ढिलाइ भएको थियो । तत्कालीन निर्देशक डा. खड्का कात्तिक १० गते सेवा निवृत्त भएपछि डा. गणेश थापालाई नै निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो । प्रदेश सरकारले गत मङ्सिर २ गते डा. केशरबहादुर ढकाललाई निर्देशक नियुक्त गरेको थियो । डा. ढकाल करिब आठ महिना अस्पतालको निर्देशकका रूपमा काम गर्नुभयो । 

यता सामाजिक विकास मन्त्रालयले भने सचिव नभएका कारण अस्पताल निर्देशकको चयन प्रक्रियामा ढिलाइ भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभयो । सङ्घीय सरकारले सचिव तत्काल पठाएको खण्डमा अस्पतालको निर्देशक चयन प्रक्रिया पनि छिट्टै टुङ्गिने उहाँले जानकारी दिनुभयो । मन्त्रालयका सचिव अर्जुन गौतम पनि यही साउन १५ गते उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । मन्त्रालय पनि अहिले सचिवविहीन छ । मन्त्री भण्डारीले अस्पतालको निर्देशकको चयन प्रक्रिया सुरु नहुँदै मन्त्रालय पनि सचिवविहीन भएकाले अब सङ्घीय सरकारले सचिव पठाउनासाथ प्रदेश अस्पतालको निर्देशक चयन गरिने बताउनुभयो ।