टोपलाल अर्याल
रेसुङ्गा, साउन १९ गते । गुल्मीको सत्यवतीमा अर्घेला पाखापखेरालाई फलफूलको बगान बनाउन आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८३ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएका छन् । व्यक्तिगत, समूह र सहकारी तथा सार्वजनिक जग्गामा फलफूल तथा मसलेदार रुखका बिरुवा रोपिएको हो । लुम्पेकमा कृषि पर्यटनलाई जोड्न सत्यवती धार्मिक क्षेत्रमा तीन वर्षदेखि चिया र कफी रोपिएका छन् ।
बिरुवा थप्ने, काँटछाँट गर्नेलगायतका काम सामुदायिक रूपमा हुँदै आएका छन् । भार्सेमा लामपाटा कृषि तथा पशुपन्छी फार्ममार्फत चक्लाबन्दी गरेर चार हजारभन्दा बढी सुन्तला रोपिएका छन् । संस्थाका अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले दुई सय रोपनीमा स्थानीय १२ जना व्यावसायिक सुन्तला उत्पादक मिलेर फार्ममार्फत सुन्तला रोपेको बताउनुभयो ।
तीमध्ये तीन सय बोटले आम्दानी दिन थालेका छन् । आफूले सुन्तला बेचेर मात्रै वर्षमा चार लाख कमाए पनि सामुदायिक भावनाका साथ समूहमा काम गरेको बुढाथोकीले बताउनुभयो । उहाँले अहिलेसम्म पालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत करिब २५ लाख रुपियाँ खर्च भए पनि आफूहरूले दोब्बर मेहनत र खर्च गरेको बताउनुभयो । लिम्घाको सिरुखर्कमा डेढ सय रोपनीमा कागती र एकसिङ्गमा डेढ सय रोपनीमा ड्र्यागन, आँप, अस्ट्रेलियन बदाम, एभोकाडोलगायतका फलफूलका बिरुवा रोपेको सत्यवती गाउँपालिकाका कृषि अधिकृत पुकार भण्डारीले जानकारी दिनुभयो ।
सत्यवती गाउँपालिका - ३ ठुलो लुम्पेकको सत्यवती पर्यटकीय क्षेत्रमा चिया खेती विस्तार गरिदैं ।
बडीगाड खोलाकिनारमा बर्खे फलफूल, आँप, लिची र माथिल्लो भूभागमा किवी, नास्पातीलगायतका हिउँदे फलफूल रोपिएको छ । सत्यवती गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका उच्च भूभागमा टिमुर र बर्खे फलफूलका बिरुवा रोपिएका छन् । हिउँदे फलफूलतर्फ किवी, हलुवाबेद, ओखर, स्याउलगायत गरेर एक हजार ७८० बिरुवा रोपिएको छ ।
त्यसै गरी सुन्तला, कागती, खयर, तेजपत्ता, लालीगुराँस, अगरउड, अलैँची, एभोकाडो र श्रीखण्डलगायतका गरेर करिब एक हजार तीन सय रोपनी क्षेत्रफलमा ८३ हजार ३७० विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको सत्यवती गाउँपालिकाका कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिनुभयो ।
सत्यवती गाउँपालिका–८, भार्सेका ५६ वर्षीय यमबहादुर थापाले १५० बोट किवी रोप्नुभएको छ । उहाँले अन्नबाट भन्दा बढी आम्दानी हुने भएपछि नर्सरीसहितको किवी खेती विस्तार गर्नुभएको हो ।
भार्सेकै ठुलोपोखरी कृषि समूहले सामुहिक रूपमा १० वर्षदेखि किवी उत्पादन सुरु गरेको छ । भार्से गाउँमा कम्तीमा १० बोट किवी अधिकांश घरले रोपेका छन् । भार्सेमा छ समूह, १५ व्यावसायिक फार्मका पाँच हजार छ सय किवीका बोटमध्ये चार हजार छ सय बोटबाट उत्पादन हुने गरेको छ ।
फलफूल खेतीमार्फत स्थानीयलाई जीविकोपार्जनसँग जोड्ने आफूहरूको उद्देश्य रहेको सत्यवती गाउँपालिकाका उपाध्यक्ष नीरमाया तरामूले बताउनुभयो । उहाँले सामूहिक कामलाई प्राथमिकता दिएर अनुदान, प्रविधि र सिप प्रदान गरेको बताउनुभयो ।