• ७ जेठ २०८१, सोमबार

अभावै अभाव झेल्दै विद्यालय

खानेपानी छैन, शौच गर्न खेतबारीतिर

blog

यादवराज पुरी

रौतहट, असार ८ गते  । सामुदायिक विद्यालयको व्यवस्थापन, निरीक्षण, मूल्याङ्कन, अनुगमनलगायत सम्पूर्ण उत्तरदायित्व स्थानीय तहमा रहे पनि चन्द्रपुर नगरपालिकाको आधारभूत तहका अधिकांश विद्यालय भौतिक संरचना अभावमै सञ्चालित छन् । सम्बन्धित विद्यालयका अभिभावकअनुसार विगतमा भौतिक संरचना निर्माणको लागि अनेकौं पटक पालिकाको ध्यानाकर्षण गराउँदा कुनै चासो नराखेपछि यथावस्थामा नै पठनपाठन सञ्चालन गर्नु परेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले पालिकामा सञ्चालित आधारभूत तहका विद्यालयमध्ये कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन रहेको र कुनैमा कक्षा कोठा, पक्की शौचालय, खानेपानीलगायतका भौतिक संरचना अभाव रहेको बताउनुभयो । उहाँका अनुसार कटानी नयाँ बस्तीमा रहेको जनता आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रहे पनि कक्षा कोठाको अभाव छ । त्यस्तै वसन्तपुर प्राविमा सञ्चालित कक्षा ६ र ७ मा जम्मा आठ÷दस जना मात्रै विद्यार्थी रहेकोले उक्त विद्यालयलाई कक्षा ५ सम्म मात्र सञ्चालनको अनुमति दिने तयारी भइरहेको छ । 

चन्द्रपुर–८, बेतौनामा रहेको दलित जागरण, वडा नम्बर २ असनवाको आधारभूत, सिरानटोलको माईस्थान प्रावि र वडा नम्बर ३, हिलेखोलामा सञ्चालित हिलेश्वर प्राविमा कक्षा कोठा, शौचालय र खानेपानीको ठूलो समस्या रहेको सम्बन्धित विद्यालयका अभिभावकको गुनासो छ ।  

आधारभूत प्रावि असनवाका अभिभावक रामेश्वर धामीले विद्यालयमा शौचालयको व्यवस्था नहुँदा शिक्षक, विद्यार्थी एवं आगन्तुकलाई शौच गर्न विद्यालय नजिकैको खेतबारीमा जानुपर्ने बाध्यता छ । अन्य अधिकांश विद्यालयको अवस्था पनि उस्तै छ । 

कक्षा कोठाको अभाव नभएका विद्यालयमा डेक्स, बेन्चको अभावले विद्यार्थी कोचिएर बस्नुपर्ने अवस्था रहेको बताउँदै चन्द्रपुर नगर शिक्षक सङ्घका पदाधिकारी कृष्णमुरारी आचार्यले भौतिक संरचनाको अभाव झेल्दै पठनपाठन गर्नुपर्ने विद्यालयको बाध्यता रहेको बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ गौरका प्रमुख रामविनय सिंहले भौतिक संरचनाको अभावमा जिल्लाभरिका आधारभूत विद्यालयको पठनपाठन प्रभावित बनेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको १८ वटै पालिकामा चार सयको हाराहारीमा आभारभूत विद्यालय सञ्चालनमा छन् तर अधिकांश विद्यालयमा कक्षा कोठा, शौचालय एवं खानेपानीको ठूलो समस्या छ ।

सम्बन्धित पालिकाले त्यस्ता भौतिक संरचनाको उचित प्रबन्ध गरी अध्ययन अध्यापन सहज र सरल बनाउनुपर्ने उहाँँको सुझाव छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले विगतमा जे जे भए पनि पालिकाको शैक्षिक अवस्था सुधारको लागि अब कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।