• १२ असार २०८१, बुधबार

स्वास्थ्य बीमा आफैँ बिरामी

blog

काठमाडौँ, असार ८ गते । स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।  

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बीमा बोर्डले नियमित उपचार खर्च नदिँदा यही असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । धुलिखेल अस्पतालले पनि बीमा बोर्डबाट २५ करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले बीमा बोर्डबाट अझै १० करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएको बताउँदै बीमा कार्यक्रम राम्रो भए पनि बाध्यताले यसको सेवा बन्द गर्नुपरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा कार्यक्रम बडो उत्साहसाथ सुरु गरेको बताउँदै भन्नुभयो, “मेरै कार्यकालमा बन्द गर्नुपरेको छ, निकै दुःख लागेको छ ।”

उहाँले बीमाका लागि छुट्टै १२ जना जनशक्ति व्यवस्थापन गर्नुपरेको बताउँदै उनीहरूको तलब, भत्ता, उपचारमा असमानता जस्ता कुराले स्वास्थ्य बीमा कार्यक्रम सम्भव नहुने तर्क गर्नुभयो । कार्यकारी निर्देशक डा. काफ्लेले बोर्डका कर्मचारीबाट राम्रो व्यवहार नभएको र रकम दिन आनाकानी गर्ने गरेको गुनासो पनि गर्नुभयो । 

बीमा बोर्डले दुर्गम क्षेत्रको स्वास्थ्य संस्थामा शल्यक्रिया वा उपचार गर्दा र रिफर भएर शिक्षण अस्पतालमा आई उपचार गराउँदा पनि समान उपचार खर्च दिने गरिएको प्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो, “मोफसलमा सात हजार रुपियाँ तोकिएको शल्यक्रिया शिक्षण अस्पतालमा गराउँदा २० हजार रुपियाँ पर्छ । मोफसलमा लाग्ने शल्यक्रियाको रकममा हामीले उपचार गर्न सक्दैनौँ ।

” त्रिवि शिक्षण अस्पतालमा २०७७ मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । ‘प्याकेज’ मा भुक्तानी हुँदा समस्या भएको र बिरामीलाई उपलब्ध हुने सेवा–सुविधा बोर्डले दिने प्याकेज रकमले नपुग्दा अस्पतालले थप आर्थिक भार भोग्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

स्वास्थ्य बीमा बोर्डको समस्या अर्कै छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले जनशक्ति अभावमा अस्पताललाई समयमा माग दाबीअनुसार भुक्तानी दिन नसकिएको बताउनुभयो ।स्वास्थ्य बीमा सेवा दिने अस्पताल ४४९ वटा छन् । ती अस्पतालबाट दैनिक २५ हजार बिरामीका लागि भुक्तानी दाबीका लागि माग आउने गरेको छ । उहाँले भन्नुभयो, “हामीसँग रहेका जनशक्तिले दैनिक १० हजारभन्दा बढी रिपोर्ट हेर्न सम्भव छैन । त्यसैले अस्पतालको दाबी भुक्तानीमा ढिलाइ हुन पुगेको हो ।” 

बोर्डले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई १० करोड रुपियाँ, वीर अस्पताललाई १२ करोड रुपियाँ, धुलिखेल अस्पताललाई २५ करोड रुपियाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बोर्डले समयमा भुक्तानी गर्नुपर्नेमा भुक्तानी नहुँदा बीमाबाट हुने थप उपचार गर्न गाह्रो भएको बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले रकम भुक्तानीमा ढिलाइ हुँदैमा सेवा नै बन्द गर्छाैं भन्नु गलत भएको बताउँदै भन्नुभयो, “सुरुमा सम्झौता गर्ने अहिले आएर रकम भुक्तानीमा ढिला हुँदा हात झिक्छौँ भनेर धम्की दिनु उचित हुँदैन । बोर्डको समस्यालाई पनि अस्पतालले बुझिदिनुपर्छ ।” उहाँका अनुसार गत वर्ष साउनदेखि गत वैशाखसम्ममा आठ अर्ब १३ करोड रुपियाँ भुक्तानी भइसकेको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।