भक्तपुर, असार ७ गते । हरेक वर्ष भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित भक्तपुरका जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिन्छ । सोही परम्पराअनुरूप मङ्गलबार राति नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिँदैछ । देवगणका सदस्य नारायणमान वनमालाले नवदुर्गा गणको मुकुन्डो ब्रह्मायणी पीठ परिसरमा विधिवत् रूपमा जलाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न ठाउँमा आठ महिना नाच प्रदर्शन गर्ने नवदुर्गा गणको देहावसानसँगै भक्तपुर नगरपालिका–३, गछेंस्थित नवदुर्गा द्योंछे (देवता घर)मा पूजाआजा बन्द हुने गर्दछ । नवदुर्गा गणको नाच भक्तपुर नगरका २१, मध्यपुर थिमि, बनेपा, पनौती, साँखु, पशुपति, टोखा, कीर्तिपुर, साँगा, धुलिखेलगायत ठाउँमा प्रदर्शन गर्ने परम्परा छ ।
प्रत्येक वर्ष भलभल अष्टमीमा देहावसान भएका नवदुर्गा देवगणको दशैँमा पुनः जन्म हुन्छ । दशैँमा जन्मेपछि भक्तपुर नगरपालिका–१, सूर्यमढीमा माघ २ गते पहिलो नाच सुरु हुन्छ । नवदुर्गाको जन्मसँगै नयाँ मुकुन्डो तयार गरी नवदुर्गा गणले लगाउँछन् ।
घण्टाकर्ण चतुर्दशीका दिन नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि त्यसमा देवता प्रविष्ट हुन्छन् भन्ने मान्यता छ । साथै मुकुटधारीमा अलौकिक शक्ति प्राप्त हुने विश्वास रहने इतिहास तथा संस्कृतविद् ओमप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिएका १२ वटा मुकुटधारीसहित कुल १३ जना कलाकार नवदुर्गा नाचमा प्रत्यक्ष संलग्न हुन्छन्, उहाँले भन्नुभयो, “यो नाचमा भैरव (कालभैरव), महाकाली, वाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र दुई सिंह (नन्दी–भृङ्गी)सहित १३ जना पात्र रहेका हुन्छन् ।” तन्त्रमन्त्रद्वारा भक्तपुरवासीलाई सुरक्षा प्रदान गर्ने नवदुर्गा गणको देहावसानपछि रोगव्याधि तथा भूतप्रेतको प्रकोप बढ्ने जनविश्वास छ । प्रकोपबाट बच्न नवदुर्गा देवगणले पासुका लगाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
भलभल अष्टमीमै नवदुर्गाको विसर्जन परम्पराले बाँधेको संस्कार हो । विगतमा भलभल अष्टमीको दिन भक्तपुरको नदीमा ठूलो बाढी आउने र नदीमा थुप्रिएका फोहोर बाढीले बगाएपछि नदी शुद्ध हुने भएकाले नवदुर्गा गणको विसर्जन यो तिथिमा गर्न थालिएको इतिहासविद्हरू बताउँछन् । ‘नदी वेगेन शुद्धति’ अर्थात् नदी जति वेगमा बह्यो उति शुद्ध हुन्छ भने जस्तै यस दिन हनुमन्ते खोला वेगले बग्ने भएकाले नवदुर्गा विसर्जन गर्ने परम्परा राखिएको हो, संस्कृतविद् धौभडेलले भन्नुभयो ।
नवदुर्गाको अन्तिम नाच ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिठी नखःको दिन इच्छुटोलमा नाचिन्छ । सोही दिन मुकुटमा प्रविष्ट गराइएको मन्त्र–कर्म फिर्ता (निष्क्रिय) गराउने चलन छ । मन्त्र फिर्ता गरेसँगै नवदुर्गाको मुकुटबाट जीवत्व हरण हुन्छ भन्ने मान्यता भक्तपुरवासीमा छ ।
इच्छुटोलमा नवदुर्गाको अन्तिम नाच हुँदा गणका सदस्यहरू देवघरमै बस्छन् । सो समयमा सबै भक्तपुरवासी देवी मन्दिरमा एक पटक दर्शन गर्न जानुपर्छ भन्ने मान्यता रहेको उहाँले बताउनुभयो । अष्टमीको दिन नवदुर्गा विसर्जन गराउनुपूर्व सबै नवदुर्गा गण बाजाको तालमा एक पटक नगर परिक्रमा गर्दछ ।
देवगणका सदस्य वनमालाले यो दिन बज्ने बाजाको ताल अरू दिनको तुलनामा फरक हुने बताउँदै जीवनकालभरमा नवदुर्गा गणले भक्तपुरको प्रत्येक टोलमा पुगेर नाच देखाउने र हरेक टोलमा छुट्टाछुट्टै संस्कार गरिने बताउनुभयो । उहाँका अनुसार ११ महिनाको समयावधिभित्र १६ संस्कार सम्पन्न गरी विसर्जनको तयारी गरिएको नवदुर्गासँगै सिफ द्यः अर्थात् महालक्ष्मीको प्रतिमाको आधा भाग पनि नष्ट गरिन्छ तर त्यसमा रहेका गहना भने नष्ट गरिँदैन ।
कलश विसर्जनसँगै नाचमा प्रयोग हुने सबै मुकुटलाई मान्छेको जस्तै विधिबाट अन्तिम संस्कार गर्ने चलन छ, वनमालाले भन्नुभयो, “जसमा नवदुर्गामा भैरवको भूमिका निर्वाह गर्ने व्यक्तिले १२ वटै मुकुटलाई दागबत्ती दिने गर्छन् । मुकुट जले पनि गरगहना र पोसाक भने जलाइँदैन । घाटबाट फर्किएपछि सबै मुकुटको किरिया कर्म भैरवले गर्ने गर्छन् । अन्तिम संस्कारपछि नवदुर्गाका कुनै पनि गणलाई देवी मन्दिरमा प्रवेश गर्न रोक लगाउने गरिन्छ ।