• २७ कात्तिक २०८२, बिहिबार

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

blog

गुल्मी, कात्तिक २७  गते ।  रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रूपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिनुभयो । 

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताउनुभयो । 

    नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौँबाट बिहान ६ः ३० बजे र रेसुङ्गाबाट बिहान ७ः ३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ । 

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ । रासस