• १६ भदौ २०८१, आइतबार

घारखोला जलविद्युत आयोजनाको ९० प्रतिशत सम्पन्न

blog

म्याग्दी, असार ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगामी मङ्सिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । 

दश महिना अघि तीन हजार पाँच मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ भित्र ढलानको काम गरिरहेको छ । पोखरेबगरमा आयोजनाको विद्युत गृह निर्माण धमाधम भइरहेको आयोजनाका इन्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको हाल सम्म  समग्र रुपमा ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी असोज महिना देखि परीक्षण उत्पादन गर्ने र मङ्सिरबाट व्यापारिक उत्पादन थाल्ने आयोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । ड्याम निर्माण यसअघि नै सम्पन्न गरेको आयोजनाले असार मसान्त पछि हेडवक्सका संरचनाहरुमा पानी भरेर परीक्षण थाल्ने आयोजनाका इन्जिनियर बज्रचार्यले जानकारी दिनुभयो । 

सुरुङ मार्गको सम्पूर्ण काम सम्पन्न गरेर भदौं मसान्त पछि सुरुङमा पानी भर्न थाल्छौं आयोजनाका इन्जिनियर बज्रचार्यले भन्नुभयो ‘आयोजनाले कात्तिकबाट परिक्षण उत्पादन थाल्ने हाम्रो योजना छ ।’  आयोजनालाई आवश्यक पर्ने मेशिन तथा उपकरणहरु आउने क्रममा रहेका छन् । भदौं सम्म विद्युत गृह निर्माण सम्पन्न गरी उपकरणहरु जोड्नको सम्पूर्ण काम सकिने उहाँले बताउनुभयो । 

बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण गरिएको छ ।  डसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटरमा १८५ मिटर पाइप जडान सकिएको छ । डिसेण्डर एप्रोच क्यानल जडान कार्य सम्पन्न भएको छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर जग्गा तयार पारेको जग्गामा विद्युत गृह हुनेछ ।  अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म १२ सय २०  मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेमा हाल सम्म  करिब ६५० मिटर जडान सकिएको छ । आयोजनाको  हेड ४८० मिटर छ । 

आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ । पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल खाड्ने काम सुरु गरिएको र दुईमहिना भित्र प्रशारण लाइन तयार हुने आयोजनाले जनाएको छ । आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । 

Author

ठाकुरप्रसाद आचार्य