• १९ असार २०८१, बुधबार

तयार भयो साइकल लेन

blog

तुलसीपुर, असार ७ गते । तुलसीपुर बजार क्षेत्रमा साइकल लेन तयार पारिएको छ । बजार क्षेत्रको सडक किनारा आकृति तोकिएर साइकललाई प्राथमिकता निर्धारण लेखिएको छ । साइकल लेन ‘माई वे तथा ग्रिन वे’ अभियानअन्तर्गत निर्माण गरिएको हो ।

साइकल सिटी नेटवर्क नेपालले सञ्चालन गरेको यो अभियानअन्तर्गत पोखरा, ललितपुर र हेटौँडालगायतका सहरमा साइकल लेन बनाइएको छ । तीमध्ये सबैभन्दा प्रभावकारी तुलसीपुर हुने कार्यक्रमका संयोजक निमेश दुगडले जानकारी दिनुभयो । अन्य क्षेत्रमा राजमार्गमा साइकल लेन बनाइएको छ भने तुलसीपुरमा भने बजारको भित्री सडकमा समेत बनाइएको छ । भित्री सडकमा आपत्कालीन अवस्थाबाहेक पहिलो प्राथमिकता पैदलयात्री र साइकलयात्रीलाई हुनुपर्छ । 

संयोजक दुगडका अनुसार तीन चरणमध्ये पहिलो चरणको काम सम्पन्न भएको छ । यो चरणमा तुलसीपुरको वीरेन्द्रचोकदेखि तुलसीपुर मेट्रो कलेजसम्मको भित्री सडकमा साइकल लेन बनाइने भएको छ । पहिलो चरणबाट साइकल लेनबारे जानकारी र दोस्रो चरणमा तुलसीपुर बजार क्षेत्रको राप्ती राजमार्ग क्षेत्रमा तथा तेस्रो चरणमा साइकल लेन निर्माण भएका स्थानमा साइकल स्ट्यान्ड र रिपेरिङ सेन्टर निर्माण गर्ने योजना छ । 

 साइकलयात्री सविन केसीले यो अभियानबाट वातावरण प्रदूषण कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बिहानको समयमा विभिन्न काममा निस्कने मजदुर, दूध तथा तरकारी बेच्न बजार आउनेले साइकल प्रयोग गरेको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई साइकल सिटीका रूपमा विकास गर्ने योजनाअनुरूप छात्रालाई साइकल वितरण अभियान थालेको छ । हालसम्म उपमहानगरले तीन चरणमा ३१ विद्यालयका १२५ छात्रछात्रालाई साइकल वितरण गरिसकेको छ ।

Author

गोकर्ण पौडेल