• १६ भदौ २०८१, आइतबार

उदिपुर पहिरोको बैकल्पिक सडक निर्माण

blog

डुम्रे–बेंसीशहर–चामे सडक अन्तर्गत बेंसीशहर नगरपालिका १ उदीपुरको पहिरोको विकल्पमा सडक निर्माण गरिँदै । तस्बिरः बेलिना थापा

लमजुङ, असार ७ गते । डुम्रे–बेंसीशहर–चामे सडक अन्तर्गत पर्ने बेंसीशहर नगरपालिका वडा नं. १ उदीपुरमा पहिरोको विकल्पमा पहिरो तलबाट सडक निर्माण गरिएको छ ।

पहिरोले आइतबार विहानैदेखि सडक अवरुद्ध बनेपछि बैकल्पिक सडक निर्माण गरिएको हो । अवरुद्ध सडक तत्काल खुलाउन सम्भव नभएपछि  बैकल्पिक मार्ग निर्माण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताउनुभयो । उहाँका अनुसार पहिरो तल मस्र्याङदी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिने छ । सोमबारबाट सडक निर्माणको काम भएको छ । मंगलबारसम्म सवारी सञ्चालन हुने गरी निर्माण भइरहेको बताउनुभयो ।

उदीपुरमा बर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ । साना सवारीहरु मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरिरहेका छन् । ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण भइरहेको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताउनुभयो । उहाँका अनुसार उदीपुरको पहिरोको विकल्पमा चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने  सडक निर्माण भइरहेको छ । प्राविधिक दृष्टिले हेर्दा अन्य ठाउँबाट बैकल्पिक मार्ग खुलाउँदा धेरै समय लाग्ने भएकाले उक्त मार्गलाई नै खुलाउने प्रयास गरिएको बताउनुभयो । मंगलबारसम्म बैकल्पिक बाटोबाट सवारीसाधन आउजाउ हुने बताउनुभयो । ठूला सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न लगाइने छ । साना सवारीलाई उदीपुरबाट धिमिरेको सडक प्रयोग गरिने छ । धिमिरेको घुमाउरो कच्ची सडक हिलाम्मे भएकाले पानी कटाएर सवारी सञ्चालनमा सहज बनाउने बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले पैदलयात्रीका लागि सडकको माथिल्लो भाग जंगलको बाटोमा नेपाली सेनाले पैदल ट्रयाक खोलेको बताउनुभयो । बेंसीशहर हुँदै उदीपुर गएका सवारी साधन पहिरो नजिकै रोकिने गरेको छ । उदीपुरबाट बेंसीशहर आएका सवारी उदीपुरतर्फ नै रोकिने गरेको छ । सवारी रोकेर पैदल मार्ग हिँड्ने गरेका छन् । पहिरो पार गरेपछि सवारी साधन खोज्ने यात्रा गर्ने गरेका छन् ।

बेंसीशहर–चामे सडक खण्डको खरखरेमा पनि सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग प्रयोग गरिएको छ । बेंसीशहर–बाँझाखेत हुँदै खुदी निस्कने बैकल्पिक मार्ग प्रयोग गरिकको छ ।

तत्कालका लागी अवरुद्ध सडक खुलाउन सम्भव नभएपछि बैकल्पिक मार्ग प्रयोग गरेर सडक सञ्चालन गरिएको हो । मोटरसाइकलहरु खरखरे नजिकै बेलौती बिसौनाको झोलुंगे पुलबाट वारपार गरेका छन् ।  खरखरेमा बर्षौंदेखि पहिरो जाने गरेको छ । यसले नागरिकलाई सास्ती खेप्न बाध्य पारेको छ । बर्खाको समयमा दैनिक पहिरो झर्ने गरेको छ । दैनिक दुःख दिने गरेपछि विकल्प खोजिएको हो ।