• १३ साउन २०८१, आइतबार

सामुदायिक विद्यालयमा विद्यार्थीलाई प्रवेश परीक्षा

blog

टीकापुर (कैलाली), असार ७ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिएमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण बनेको छ कर्णाली माध्यमिक विद्यालय । विद्यार्थी र अभिभावकको रोजाइ बन्दैगएको कर्णाली माविले विद्यार्थी चाप बढेसँगै प्रवेश परीक्षा लिएर भर्ना गर्न थालेको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले भन्नुभयो, “भर्ना हुन चाहने सबै विद्यार्थीलाई भर्ना लिन सकिने अवस्था छैन ।”

टीकापुर नगरपालिका–१ स्थित कर्णाली माविका औसत सिकाइ उपलब्धि ५३.२१ प्रतिशत पुगेको छ । १० वर्षअघि मावि तह अध्यापनको अनुमति प्राप्त कर्णाली माविमा त्यो बेला ४७६ विद्यार्थी थिए । शैक्षिक सत्र २०७५ मा विद्यार्थी सङ्ख्या बढेर एक हजार पुगेको थियो । शिक्षक र कक्षा कोठाको अभावमा विद्यालयले बिहान दिउँसो गरी दुई चरणमा कक्षा सञ्चालन गरिरहेको छ । 

सरकारले कर्णाली माविलाई नमुना विद्यालयका रूपमा विकास गरेको छ । माध्यमिक तहदेखि नै सिभिल इन्जिनियरको अध्यापन गरिन्छ । कक्षा ११ मा ४८ जनाको कोटा पाएको छ । जसले गर्दा विद्यार्थीको आकर्षण अझ बढेको बुझाइ विद्यालयको छ । सबै विद्यार्थीले सिभिल इन्जिनियरिङ त पढ्दैनन तर नमुना विद्यालय घोषणाले शैक्षिक गुणस्तर बढेसँगै विद्यार्थी आकर्षित हुन थालेको प्रअ शर्माले बताउनुभयो ।

शैक्षिक सत्र २०७८ मा दुई हजार ३७ विद्यार्थी अध्ययनरत थिए । यो वर्ष सबै विद्यार्थी भर्ना नभइसकेकाले विद्यार्थी सङ्ख्या निश्चित त भएको छैन तर प्रवेश परीक्षाबाट दुई सयभन्दा बढी नयाँ विद्यार्थीले कर्णाली माविमा प्रवेश पाइसकेका छन् । यस शैक्षिक सत्रमा अन्य विद्यालयबाट आएका ५१३ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् ।

प्रधानाध्यापक शर्माका अनुसार कक्षा ४ देखि ६ सम्म एक पटक र ७ देखि ९ कक्षाको एकएक पटक प्रवेश परीक्षा लिइन्छ । कक्षा ६ मा २०४, कक्षा ७ मा २११, कक्षा ८ मा २५९, कक्षा ९ मा ३६५ र कक्षा १० मा ३३५ विद्यार्थी छन् । विद्यालयमा अहिले दुईदुई सेक्सन मात्रै बनाइएको छ । विद्यार्थी भर्ना लिन्न भन्न नपाइने भएकाले विद्यार्थी चाप बढ्दो छ तर शिक्षक राख्न आफूहरूसँग बजेट नभएको प्रअ शर्माले बताउनुभयो ।

उहाँका अनुसार कक्षा ८ सम्म निःशुल्क भएकाले विद्यार्थीबाट एक रुपियाँ पनि लिन पाइँदैन । शिक्षक नथपिए पढाउन मुस्किल हुँदैछ । एक शिक्षक ६० विद्यार्थीको अनुपातमा राख्दा पनि गत वर्ष नै पाँच जना शिक्षकको कमी भएको थियो । कक्षा ११ र १२ मा सिभिलतर्फ ४८-४८ जना र कृषितर्फ तीनै वर्षका मिलाएर ८५ जना विद्यार्थी पढिरहेका छन् ।

कर्णाली माविका शिक्षकप्रति विद्यार्थी र अभिभावकको विश्वास छ । कक्षा ७ मा अध्ययनरत छात्रा सरिता भण्डारीले शिक्षकले विद्यार्थीलाई निगरानी गर्ने, पढाइ राम्रो, खाजा समय पनि ठिक्क दिने भएकाले अभिभावकले कर्णालीमा भर्ना गरिदिएको र विद्यालयको वातावरण राम्रो भएको प्रतिक्रिया दिनुभयो । शिक्षक अभिभावक सङ्घका सदस्य शेरबहादुर विष्टले प्राविधिक शिक्षा पढाइ हुने, शिक्षक नियमित पढाउने भएका कारण विद्यालयप्रति आकर्षण बढेको बताउनुभयो।

विष्टले कर्णालीमा प्राविधिक शिक्षा र पढाइ राम्रो हुने भएपछि आफ्नो छोरालाई निजी विद्यालयबाट  छुटाएर कक्षा ९ मा कर्णालीमा भर्ना गरेको र कक्षा ११ सम्म पुग्दा छोराको पढाइ पनि राम्रो रहेको बताउनुभयो । टीकापुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, उपसचिव दमनसिंह चौधरी टीकापुर नगरपालिकाको समग्र अवस्था हेर्दा एक शिक्षक बराबर ४६ विद्यार्थी रहे पनि 

दरबन्दी मिलान नहुँदा कतै शिक्षक धेरै कतै विद्यार्थी धेरै भएको बताउनुभयो । शिक्षा शाखा प्रमुख चौधरीले भन्नुभयो, “कर्णालीमा निजी स्रोतका शिक्षक धेरै, व्यवस्थापन समिति सक्रिय भई शैक्षिक गुणस्तर राम्रो भएपछि नमुना विद्यालय भयो, नमुना विद्यालय भएपछि विद्यार्थी पनि बढेका छन् ।” उहाँले भन्नुभयो, “शिक्षा ऐन बनिसकेको छ, कार्यविधि तयार छ, यो पास भइसकेपछि शिक्षक दरबन्दी मिलान गरेर समस्या घटाउछौँ ।”