• ९ साउन २०८२, शुक्रबार

प्राविधिक जनशक्ति उत्पादनमा अब्बल

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), साउन ८ गते । जुम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादनमा अब्बल साबित भएको छ । २०३७ सालमा स्थापना भएको यो शिक्षालयले अहिलेसम्म करिब सात हजार प्राविधिक जनशक्ति उत्पादन गरेको छ । 

प्राविधिक शिक्षालयको दोस्रो शिक्षालय प्रमुख टङ्कनाथ शर्माले २०७२ सालमा गरेको रोजगारीसम्बन्धी अध्ययन अनुसार शिक्षालयको प्रारम्भिक कालखण्ड अर्थात् २०६५ सम्म उत्पादन भएका ९९ प्रतिशत जनशक्ति रोजगारीमा संलग्न भएको तथ्याङ्क छ । यस्तै २०६५ देखि डिप्लोमा तहको कार्यक्रम सुरु भएयता हालसम्म उत्पादन भएका जनशक्तिमध्ये करिब ५५ प्रतिशतले रोजगारी पाएको शिक्षालय स्रोतले जनाएको छ । कर्णालीको भौगोलिक कठिनाइबिच स्थापना भएको यो शिक्षालय स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको अवसर सिर्जना गर्ने प्रमुख शैक्षिक थलोका रूपमा स्थापित हुँदै गएको छ ।

शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाका अनुसार भविष्यमा उच्चस्तरीय डिप्लोमा र स्नातक तहका नयाँ कार्यक्रम थप गर्ने योजना रहेको बताउनुभयो । सरकारले प्राविधिक शिक्षालयलाई उद्योगसँग जोड्नुपर्ने बताउँदै उहाँले नीति बनाउने निकायले तालिम दिँदै हिँडेकाले प्राविधिक शिक्षालय धरापको अवस्थामा पुगेको उहाँको बुझाइ छ । स्थानीय सरकारले प्राविधिक शिक्षालयलाई तालिम केन्द्रका रूपमा विकास गर्नु पर्छ । थापाका अनुसार स्थानीयस्तरमै प्राविधिक शिक्षा दिन सक्नुले कर्णालीको मानवस्रोत विकासमा ठुलो योगदान पुगेको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले प्राविधिक धारको शिक्षाले ग्रामीण समुदायको जीवनमा ठुलो परिवर्तन ल्याएको उल्लेख गर्दै शिक्षालयको समुन्नत विकासका लागि सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो । 

कर्णाली प्राविधिक शिक्षालय केवल एउटा शिक्षण संस्था मात्र नभई कर्णालीको विकास र समृद्धिको आधार तयार गर्ने आधारशिला बनेको शाहीले बताउनुभयो । नेपालकै पहिलो प्राविधिक शिक्षालयमा स्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताउनुभयो । कर्णाली प्राविधिक शिक्षालयको इतिहास कर्णालीमै प्राविधिक क्रान्तिको थालनी हो । जुन आज पनि ‘सिपयुक्त शिक्षाको आधार’ का रूपमा अगाडि बढिरहेको छ । शिक्षालयले ग्रामीण युवकयुवतीलाई रोजगारमूलक शिक्षा दिँदै उनीहरूको जीवनस्तर उस्कान महत्वपूर्ण योगदान पु¥याएको छ । हाल शिक्षालयमा सिभिल इन्जिनियरिङ, फार्मेसी, एग्री प्लान्ट साइन्स, फरेस्ट्री र हेल्थ एसिस्टेन्ट (एचए) लगायतका विषयमा अध्ययन भइरहेको छ । जुम्लाका साथै अन्य विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्ययन गर्न आउने गरेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाले ४५ वर्ष पूरा गरिसकेको छ ।